कार्यालयमा छैनन् मेयर र उपमेयर

कामपाका कर्मचारीको बिजोग

6.77k
Shares

-इन्धन नदिने साझा पेट्रोल पम्पको चेतावनी
-शिक्षक र श्रम बैंकमार्फत काम गरेका कर्मचारीको तलब ५ महिनादेखि रोकियो

काठमाडौं ।

काठमाडौं महानगरका कर्मचारीले तलब नपाएको ४ महिना भयो । तर, कर्मचारीको गुनासो सुन्न छाडेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल घुमघाममै व्यस्त हुनुहुन्छ । मेयर साह कहाँ जानुभयो भन्ने विषयमा सचिवालयका केहीबाहेक कसैलाई जानकारी छैन । फागुपूर्णिमाको भोलिपल्टदेखि नै मेयर साहलाई नदेखेको कामपाका कर्मचारीहरू बताउँछन् ।

मेयर साहको अधिकांश भ्रमण गोप्य हुने गरेको उनीहरूको भनाइ छ । कामपाका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने –‘धैरै दिन भयो, मेयर साह कार्यालय आउनुभएको छैन । कहाँ जानुभयो, त्यो पनि थाहा छैन । प्रमुख प्रशासकीय अधिकृत नहँुदा कामपा गम्भीर आर्थिक संकटमा परेको छ ।

मेयर र उपमेयर घुमघाममै मस्त छन् । उपमेयर डंगोल भारत भ्रमणमा हुनुहन्छ । उहाँलाई पनि कामपामा के भयो ? प्रशासकीय अधिकृत किन ल्याउन सकिएन भन्नेबारे केही मतलब छैन । सरकारसँग पहल गरेर तत्काल समस्या समाधान गर्नुपर्ने विषयमा मौन हुनुहुन्छ ।’ एमालेबाट उपमेयर हुनुभएकी डंगोलले पार्टीले अधिकार दिएन भनेर गुनासो गर्नुहुन्छ, तर पार्टीले उपमेयर बनाएपछि आफ्नो कर्तव्य बिर्सिएको कामपाका कर्मचारीहरूको गुनासो छ । स्रोतकाअनुसार उपमेयर डंगोल कामपाकै कामको सिलसिलामा नयाँदिल्ली जानुभएको हो ।

यद्यपि, कर्मचारीहरूको गुनासो छ– ‘हामीलाई यति धेरै समस्या परिरहेको छ । तर, यस्तो समस्या पर्दा अहिले जादिनँ भन्न सक्नुहुन्न । मेयर र उपमेयर घुमघाममै व्यस्त हुनुहुन्छ ।’ मेयर सचिवालयका सल्लाहकारले प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव सरोज गुरागाइँलार्ई हाजिर गर्न नदिने र सरकारले गुरागाइँलाई नै पठाउने अडानका कारण कामपामा आर्थिक संकट बढेको हो ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाका शिक्षक र करारका कर्मचारीले तलब नलिएको ५ महिना पुगेको छ । त्यस्तै, अन्य कर्मचारीले यो महिनाको २५ गते पनि तलब नपाए तलब नपाएको ३ महिना पुग्छ । प्रवक्ता मानन्धरले तलबमात्र नभई कामपाका अधिकांश गतिविधि ठप्प रहेको बताउनुभयो । तपाईंहरूले पहल गर्नुपर्दैन त ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो –‘किन नगर्नु ? सरकार र मेयर साबबीचको द्वन्द्वले समस्या भएको हो । तैपनि पहल जारी राखेका छौं ।’

भौतिक निर्माणअन्तर्गत गत वर्षको भुक्तानी भइसकेको भए तापनि चालू र क्रमागत भुक्तानी हुन सकेको छैन । आर्थिक संकटले गर्दा करिब १ अर्ब रुपियाँभन्दा बढी रकम ठेकेदारलाई भुक्तानी दिन बाँकी छ । बिलको चाङ थुप्रिएको छ । रकम नभएपछि जटिल समस्या देखिएको छ । त्यतिमात्र होइन, सवारी साधनका लागि इन्धनसमेत नपाउने अवस्थामा कामपा पुगेको छ । साझा पेट्रोल पम्पले बाँकी बक्यौता भुक्तानी नदिएका कारण इन्धन रोक्ने चेतावनी दिएको छ ।

मेयर साहले समस्या समाधानका लागि सरकारसँग पहल नगर्नुभएको भने होइन । सरकारले आफ्नो अडान लिएका कारण समस्या परेको हो । उपमेयर डंगोल भने ढुक्क देखिएको गुनासो गर्दै अधिकांश कर्मचारीले भन्ने गरेका छन् –‘मेयरको सरकारसँग द्वन्द्व भयो, उपमेयरले बीचको बाटो खोज्नु भएन । उद्घाटन र भ्रमणमा व्यस्त उपमेयरको कारण पनि समस्या देखिएको छ ।’

भुक्तानी दिन नसकेको बारेमा कामपा वित्तविभाग प्रमुख शिवराज अधिकारीले अघिल्लो वर्षको भुक्तानी दिन नसक्दा समस्या भएको बताउनुभयो । वित्त विभागमा हरेक विभागबाट भुक्तानीका लागि ताकेता आउने गरेको छ । उहाँले भन्नुभयो– ‘देशको सबैभन्दा ठूलो स्थानीय तहमा मेयर र सरकारबीचको टकराबले बजेट खर्च हुन सकेको छैन । बजेट अभावका कारण विकास निर्माण कार्यमा समस्या परेको छ । सामान्य भुक्तानी दिन सकेका छैनाैं, कसरी कार्यालय सञ्चालन गर्ने ? गम्भीर समस्या भएको छ ।’

गुरागाइँले पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले हाजिर गर्ने व्यवस्था गर्न आग्रह गर्दै पत्र पठाएको थियो । लगत्तै मेयर सचिवालयले हाजिर गराउन नसक्ने आशयको जवाफ पठाएपछि दुई निकायबीच चर्को विवाद भएको छ ।

तीन महिनादेखि कार्यपालिका बैठक अन्यौल

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक ३ महिनादेखि बस्न सकेको छैन । मेयर बालेन्द्र साहले बैठक राख्ने विषयमा चासो नदेखाएपछि तीन महिनादेखि बैठक बस्न नसकेको हो । यसअघि नगरपरिषद्को बैठकको तयारीका बारेमा गत पुस ८ गते कार्यपालिकाको बैठक बसेको थियो ।

सोही महिनाको १४ गते नगर परिषद्को बैठक बसेको थियो । प्रमुख प्रशासकीय अधिकृत नभएर भन्दा पनि मेयर साहले चासो नदेखाएका कारण बैठक बस्न नसकेको हो । ३ महिनाअघि सबै कार्यपालिकाको बैठक नियमित थियो, त्यसपछि अनियमित भएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐनमा हरेक महिनाको एकपटक वा आवश्यकताका आधारमा कार्यपालिकाको बैठक बस्ने व्यवस्था उल्लेख छ । तर, ३ महिनादेखि बस्न सकेको छैन’–कामपाका प्रवक्ता नवीन मानन्धरले भन्नुयो बैठकमा मेयर साहको सचिवालय र सल्लाहकारको गतिविधिबारे आलोचना हुनसक्ने भन्दै बैठक बस्न नसकेको कर्मचारीहरूको आशंका छ । मेयर सचिवालयको चरम हस्तक्षेपका कारण कामपाका सबै काममा त्रास बढेको छ ।