काठमाडौं ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र भन्सार विभागबीच अटोमोबाइल व्यवसायसम्बन्धी विषयमा छलफल भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी विभिन्न विषयमा छलफल गरेको हो ।
महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूबाट संकलित सुझावहरू प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा आवश्यक संशोधनको माग गर्नुभएको छ । उहाँले सरकारले अटोमोबाइल व्यवसायीहरूको समस्यालाई ध्यानमा राखी नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायलाई सहज बनाउन भन्सार नीतिहरू स्पष्ट हुनुपर्ने र व्यवसायीहरूले स्वच्छ प्रतिस्पर्धाको वातावरणमा काम गर्न पाउनुपर्ने नाडाको माग रहेको छ ।
महानिर्देशक भट्टराईले व्यवसायीहरूले नैतिक व्यापारिक मान्यतालाई आत्मसात गर्नुपर्ने बताउँदै सरकारले पनि स्वच्छ व्यवसाय प्रवद्र्धन गर्न आवश्यक नीति तथा संयन्त्र निर्माण गर्ने बताउनुभयो । उहाँले व्यवसायी र सरकारले पारस्परिक समन्वय बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
सोही छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दीपककुमारलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उहाँहरुले व्यवसायमैत्री नीति निर्माणका लागि सरकारसँग निरन्तर छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नाडाले स्वच्छ व्यवसायको वातावरण तयार गर्नका लागि सरकारलाई विशेष आग्रह गरेको छ । साथै, अटोमोबाइल क्षेत्रलाई सहज बनाउने नीति तथा नियम लागू गर्नुपर्नेमा पनि नाडाले ध्यानाकर्षण गराएको छ । छलफल सकारात्मक रूपमा सम्पन्न भए पनि नीतिगत सुधार बारे थप संवाद आवश्यक रहेको व्यवसायीहरूको धारणा रहेको छ ।
प्रतिक्रिया