यतिखेर विश्व राजनीति ट्रम्पमय भएको छ । संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प विजय बनेपछि उनको राष्ट्रपतीय प्रशासन भिन्न प्रकारको देखिँदै छ ।
संयुक्त राज्य अमेरिका विश्वभरका लोकतान्त्रिक देशहरूको नेतृत्वदायी भूमिका लामो समयदेखि रहँदै आएको देश हो । यही देशका राष्ट्रपतिको रुझान साम्यवादीहरूसँग हुँदै गएको देखिन्छ । उदाहरणका लागि रूसले युक्रेनमा आक्रमण गरेपश्चात् एकपक्षीय हिसाबले युद्धविरामको नारा उनले लगाइराखेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्सकीलाई युद्धविराम गर्न र शान्ति प्रक्रियामा आउन दबाब दिइराखेका छन् ।
डोनाल्ड ट्रम्प प्रथमपटक राष्ट्रपतिमा निर्वाचित भई कार्यकाल बिताउँदा उनको सामीप्यता उत्तर कोरियाका युवा शासक जो तानाशाहीका नामले विश्वभर परिचित छन्, उनीसँग थियो । त्यही समयमा पनि रसियन समर्थनमा ट्रम्प राष्ट्रपतिमा विजयी भएको आरोप उनीमाथि लागेको थियो । कतिपय शंकास्पद विषयहरुमा उनीविरुद्ध अनुसन्धानसमेत गरिएको थियो । त्यस बेलादेखिको रुसप्रतिको मोह यतिखेर पुनः उजागर भएको छ । ट्रम्पले आवश्यकताभन्दा बढी रुसको समर्थन गर्दै युक्रेनलाई अप्ठ्यारोमा पारिराखेका छन् ।
विश्वका आफूजस्तै कडा विनासोचविचार राख्ने र निर्णय गर्न सक्ने तानाशाही शासकहरुलाई ट्रम्पले मन पराएको देखिँदै छ । यही मूल्यमा उनी अमेरिका फस्टको नारा लगाउँदै रुससँग आफ्नो सम्बन्ध विस्तार गर्ने पक्षमा दृढ छन् । यसले संयुक्त राज्य अमेरिकाको भविष्य कहाँनिर दुर्घटनामा पर्ने हो ? सुरक्षित अवतरण गर्न सक्ने हुन् वा होइनन् ? भविष्यकै गर्भमा छ । तर आफ्नो देशलाई ट्रम्पको कार्यशैलीले दाउमा राखेको भने निश्चय नै देखिन्छ । ट्रम्पमा विचित्रको स्वभाव र शैली देखिँदै छ । उनले जे देखेका छन् त्यही नै सत्य हो भन्ने अहम् र अहंकार उनीमा देखिन्छ । अरुलाई अत्यन्त बेइज्जत गर्न र आफूखुशी आफैंले जम्मा गरेका घेराभित्र मात्रै रमाएर शासन गर्न उद्यत रहेका छन् ।
हालैका घटनाहरुले पनि यही कुराको पुष्टि गर्दछ । उनले युरोपियन युनियनका राष्ट्रप्रमुखहरू र सरकार प्रमुखहरुलाई पनि रुससँग एक्लै लड्न मुकाबिला गर्न सुझाव दिएका छन् । युक्रेनलाई असहज अवस्थामा भएको बखतमा हदैसम्मको शोषण गर्न लागिपरेका छन् । ट्रम्पको सदासयताविना रुससँग मुकाबिला गर्न युक्रेन असमर्थ रहेको अवस्था छ । ट्रम्पले समर्थन गरेनन् भने युक्रेनको भविष्य अनिश्चित छ । निकट भविष्यमै ध्वस्त हुँदै छ । उसको सार्वभौमसत्ताको हरण हुँदै छ । भूभाग रुसले लिँदै छ । यस अवस्थामा सम्पूर्ण पश्चिमा जगत्, नेटो र संयुक्त राज्य अमेरिकाले संयुक्तरुपमा युक्रेनलाई सुरक्षा प्रदान गरी आएका हुन् । विगतको समयमा युक्रेनलाई बाइडेनले समर्थन गर्नुको पछाडिको पनि उपादेयता रहन सक्छ ।
यसका पछाडि कुनै पनि प्रकारको खोजबिन नै नगरी उनी रुसको पक्षमा प्रायः उभिएका छन् । यो भनेको संयुक्त राज्य अमेरिकाको इतिहासमा त्यहाँका जनता, डेमोक्रेटिक पार्टी मात्र नभएर रिपब्लिकन पार्टीका मतदाताहरुको पनि अपमान हो । यस्तो जोखिमपूर्ण अवस्थामा ट्रम्प किन अघि बढेका हुन् ? आश्चर्य लाग्दो अवस्था बनेको छ । संयुक्त राज्य अमेरिकाको परराष्ट्र नीतिमा नै आमूल परिवर्तन गर्दै विपरीत खेमामा ट्रम्पले आफ्नो संलग्नता दिने संकेत देखिँदै छ । ट्रम्पको अल्पअवधिमा देखिएको यस प्रकारको रणनीतिले संयुक्त राज्य अमेरिकालाई र स्वयं ट्रम्पलाई नै अप्ठ्यारोमा पार्ने आलोचना र विश्लेषण पनि हुन थालेका छन् । यिनै विषयहरूमा सीमित रहेर यो आलेख तयार पारिएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपश्चात्का उनका काम कारबाहीहरू र निर्णयहरुका बारेमा विश्लेषण गरौं । संयुक्त राज्य अमेरिका र चीनका बीच व्यापारिक प्रतिस्पर्धा अत्यन्त तीव्र गतिमा अघि बढिराखेको स्थिति छ । सन् २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था आफ्नै हुने गरी र संयुक्त राज्य अमेरिकालाई दोस्रो दर्जामा पु¥याउने रणनीतिसहित चीन अघि बढिराखेको छ । चीनको हालसम्मको व्यापारिक साम्राज्यता र सञ्जालको अध्ययन गर्दा अमेरिकालाई उछिन्दै अघि बढ्ने अवस्था स्पष्ट छ । यो स्थितिमा ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा टेरिफ वृद्धि गर्ने निर्णय लिएका छन् ।
यसको जवाफमा चीनले पनि संयुक्त राज्य अमेरिकाका सामानहरुमा टेरिफ वृद्धि गर्ने र चीनमा रहेका चारवटा ठूला–ठूला अमेरिकन कम्पनीहरुलाई आफ्नो कारोबार रोक्न लगाउने निर्णय लिइसकेको छ । चीनमा मात्र होइन, क्यानडा र मेक्सिकोमा पनि त्यहाँबाट अमेरिका आयात हुने सामानहरुमा टेरिफ दर भारी वृद्धि गरिदिएका छन् । क्यानडालाई आफ्नो ५१औं राज्यका रूपमा लिँदै उक्त देशको मूल्य तोक्नसमेत ट्रम्पले भनेका छन् । उनी क्यानडालाई किनेर नै आफ्नो देशमा मिसाउन चाहन्छन् । यसको उपयुक्त जवाफ यी दुवै देशहरुले दिइराखेका छन् । पनामा नहर पनि अब संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने पक्षमा ट्रम्प छन् ।
ग्रीनल्यान्ड तुरुन्त आफ्नै क्षेत्रमा गाभ्ने योजनासहित ट्रम्प अघि बढेका छन् । संयुक्त राष्ट्र संघबाट संयुक्त राज्य अमेरिका बाहिरिने चेतावनी ट्रम्पले दिइराखेका छन् । विश्व स्वास्थ्य संगठनलाई उनको देशले दिँदै आएको सबै अनुदान बन्द गरिसकेका छन् । संयुक्त राज्य अमेरिकाको सहयोग नियोगको केन्द्रीय कार्यालयमा ताल्चा लगाइदिएका छन् । विश्वभर रहेका यस संस्थाका सबै कर्मचारीहरुलाई निलम्बित अवस्थामा राखेका छन् ।
नेटोको सदस्यता परित्याग गर्ने अभिव्यक्ति पटक–पटक दिइराखेका छन् । युरोपियन युनियन सम्बद्ध राष्ट्रहरुलाई दिइराखेको सुरक्षा अब दिन नसक्ने चेतावनी दिइसकेका छन् । स्मरण रहोस्, हालसम्म यी देशहरूको सुरक्षा संयुक्त राज्य अमेरिकाले लिएको छ । ती देशहरुमा करिब एक लाख प्रशिक्षित सेना अमेरिकाले तैनाथ गरिराखेको छ । हातहतियार, स्रोत–साधन कुनै कुराको कमी हुन दिएको छैन । तर अब युरोपियन युनियनले पनि आफ्नो सुरक्षा आफंै गर्नुपर्ने फरमान ट्रम्पले जारी गरेका छन् । फ्रान्सका राष्ट्रपतिसँग ह्वाइट हाउसमा भेट हुँदा पनि उनले समकक्षीसँग समान स्तरमा रहेर वार्ता गरेनन् । आफूलाई फ्रान्सभन्दा माथि राखेर अभिव्यक्ति दिए ।
डोनाल्ड ट्रम्पको कूटनीतिक शैली पनि विचित्रको देखियो । युक्रेनमा शान्ति कायम गर्ने उनको निर्वाचनकै एजेन्डा थियो । सोही अनुरुप अमेरिकाले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई उक्त देशसँग रहेको ५० प्रतिशत खनिज संयुक्त राज्य अमेरिकालाई दिने गरी सम्झौता गर्न दबाब दियो । यसलाई पनि जेलेन्सकीले स्वीकार गरे । किनकि उनीसँग विकल्प थिएन । युक्रेनको विषयलाई लिएर साउदी अरबमा अमेरिका र रूसका रक्षामन्त्रीसमेत भई वार्ता भयो । सम्बन्धित पक्षहरू युक्रेन र युक्रेन मामिलामा संयुक्त राज्य अमेरिकासरह नै संलग्न भई आएको युरोपियन युनियनलाई पनि सम्मिलित गराइएन । एकपक्षीय वार्ताबाट दुईपक्षीय समझदारीको कल्पना साउदीमा गरियो ।
कूटनीतिक शैलीको योभन्दा गिर्दो उदाहरण अरु के हुन सक्दछ ? तत्पश्चात् ह्वाइट हाउसमा तयारी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्सकीलाई आमन्त्रण गरियो । उनीलाई मानौँ, ह्वाइट हाउसमा छलफल गर्ने अधिकार थिएन । ट्रम्पले तयार गरेको दस्तावेजमा सही मात्र गर्नु उनको काम थियो । वार्ताको प्रारम्भमा नै राष्ट्रपति ट्रम्प र एकजना पत्रकारले जेलेन्सकीलाई औपचारिक सुटसहितको पोशाकमा नआएकोमा प्रश्न गरियो । यहीँबाट उनलाई तेजोबध गर्न शुरु गरिएको थियो । राष्ट्रपति ट्रम्पले युक्रेनमा निर्वाचन नगराएको आरोप लगाए ।
नेतृत्व परिवर्तन हुन सक्ने धम्की पनि दिए । कमला ह्यारीको पक्षमा राष्ट्रपतिको निर्वाचनमा जेलेन्सकीले प्रचार गरेको आरोप लगाई आफ्नो पूर्वाग्रही सोचको उजागर गरे । खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न जेलेन्सकी तयार थिए । तर उनको एउटा सर्त थियो । रूसले पटक–पटक युद्धविरामको उल्लंघन गरेकाले युक्रेनको सुरक्षाको प्रत्याभूति संयुक्त राज्य अमेरिकाले गर्नुपर्ने उनको माग थियो ।
तर त्यसलाई ट्रम्पले कुनै महत्व दिएनन् । सँगै बसेका उपराष्ट्रपतिले गैरकूटनीतिक शैलीमा जेलेन्सकीको कटाक्ष गरे । ट्रम्पलाई धन्यवादसम्म पनि नदिएको आरोप लगाए । युद्धबाट थिलथिलो भएको देशका राष्ट्रप्रमुख आफ्नो देश कसरी बचाउने सन्दर्भमा भीख मागिरहेको जेलेन्सकीले आफूलाई अत्यन्त धैर्यधारण गरेको देखिन्थ्यो । उनको मातृभाषा अंग्रेजी थिएन । त्यसैले उनबाट उत्कृष्ट अंग्रेजी भाषाको अभिव्यक्तिको अपेक्षा गर्नु पनि हुने थिएन । उनले त्यो अवस्थामा पनि आफ्नो क्षमताले भ्याएसम्म विनम्र हुन प्रयास गरे ।
आफ्ना मागहरू राख्दा र युक्रेनको अवस्था प्रस्तुत गर्दा उनी भावुक हुनु स्वाभाविकै थियो । त्यस अवस्थामा युवानेतामा थोरै मात्र भए पनि विनम्रभाव देखिएको थिएन । जेलेन्सकीको कमजोरी यही मात्र थियो । आफ्नो समकक्षी राष्ट्रप्रमुखलाई ह्वाइट हाउसबाट खानासमेत नखुवाई बिदा गरियो । यो भन्दा ठूलो संयुक्त राज्य अमेरिकाको कूटनीतिक दिवालीयापन एवं बेइज्जत अरु के नै हुन सक्दछ ? जेलेन्सकी अमेरिका छाडेर सिधै संयुक्त अधिराज्य प्रस्थान गरे । यता ट्रम्पले ट्वीट गरे । आफ्नो ट्वीटमा शान्ति सम्झौतामा सहमति जनाउने अवस्थामा आउँदा हुने सन्देश जेलेन्सकीलाई दिएका छन् ।
जेलेन्सकीले फेरि पनि खनिजसम्बन्धी सम्झौता गर्न आफू तयार भएको अभिव्यक्तिको पुनरावृत्ति गरेका छन् । आफू र आफ्नो देश संयुक्त राज्य अमेरिकासँग सधैँभरि मित्रवत् सम्बन्ध राख्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिराखेका छन् । तर हालसम्मको अवस्थामा ट्रम्पमा युक्रेन र जेलेन्सकीप्रति थोरै पनि संवेदनशीलता देखिएको छैन । उनको रवैया यथावत् छ । युक्रेनप्रति नै उनको वक्रदृष्टि हो वा व्यक्तिगतरुपमा जिलेन्सकीको उपस्थिति युक्रेनमा देख्न नचाहेको हो ? यो खोजीको विषय बनेको छ । तर युक्रेन सुरक्षित भएको मात्र आफूले हेर्न चाहेको, यदि यो समस्या समाधान भएमा पदबाट हट्न आफू तयार भएको अभिव्यक्ति जेलेन्सकीले दिएका छन् । यो उनको महानता हो ।
युक्रेनलाई सबै प्रकारका सहयोगहरू उपलब्ध गराउने र उसको सुरक्षाको प्रत्याभूतिका लागि अघि बढ्ने प्रतिबद्धता युरोपियन युनियनका सदस्य राष्ट्रहरुले गरेका छन् । युरोपको सुरक्षा गर्न आफैं सक्षम रहेको सन्देश ट्रम्पलाई दिएका छन् । युरोपियन युनियन, अस्ट्रेलिया र जापानले युक्रेनलाई सहयोग गर्ने जनाएको छ । चीनसँग अस्वस्थ व्यापारिक प्रतिस्पर्धाको चरम सीमा पार गर्ने काम ट्रम्पले नै गरे । उक्त देशसँग सम्बन्ध सुधार हुने संकेत देखिँदैन । युक्रेन मामिलामा यसरी ट्रम्पले यु टर्न गर्नुको रहस्य अझै खुल्न सकेको छैन ।
रूसलाई फाइदा दिलाएर व्यक्ति ट्रम्पलाई फाइदा हुन्छ कि हुँदैन ? त्यो आफ्नो ठाउँमा छ । तर संयुक्त राज्य अमेरिकालाई किमार्थ फाइदा हुँदैन । त्यसैले पनि लामो समयदेखिको शत्रुतापूर्ण व्यवहार र प्रतिद्वन्द्वता रहेको रुससँग साँठगाँठ हुनुको रहस्य भविष्यमा पत्ता लाग्ने नै छ । जहाँसम्म युक्रेनको सुरक्षाको प्रश्न छ । अहिलेको अवस्थामा संयुक्त राज्य अमेरिकाको सहयोगको अभावमा यो सम्भव छैन । संयुक्त राज्य अमेरिका रूससँग गठबन्धन गरेमा अन्य चीनलगायतका राष्ट्रहरूका बीच ध्रुवीकरण हुन सक्छ ।
ध्रुवीकरणको कुरा गर्दा यदि ट्रम्प र पुटिनका बीच गठबन्धन भयो भने विश्वका लोकतान्त्रिक शक्तिहरूका बीच कम्पन आउनेछ । उनीहरुले पृथक शिराबाट विश्व राजनीतिमा अलग धार निर्माण गर्नेछन् । विश्वशक्तिका दृष्टिले हेर्दा युरोपियन युनियन मात्रले यो नेतृत्व लिन सक्दैन । अस्ट्रेलिया, जापानलगायतका अन्य देशहरुले सहयोग गर्दा पनि यदि रुस र संयुक्त राज्य अमेरिका एकै ठाउँमा रहे भने अप्ठेरो हुन्छ । यता विश्वमा उदयमान दुई ठूला शक्तिहरु चीन र भारत पनि रहेका छन् । यी दुईले ध्रुवीकरण युरोपियन युनियनसँग गर्छन् या गर्दैनन् । यसै भन्न सक्ने अवस्था छैन । किनकि चीनको एकल सोच आर्थिक हिसाबले समृद्धि प्राप्त गर्नमा छ । विश्वको एक नम्बर हुनु नै छ ।
यस अर्थमा अनावश्यक द्वन्द्व, युद्ध आदिमा संलग्न हुन चाहँदैन । उसलाई ट्रम्पको देशले उपयुक्त बजार नदिँदा घाटा अमेरिकालाई नै बढी हुने अवस्था छ । रुससँग चीनको असल कूटनीतिक सम्बन्ध छँदै छ । यदि ट्रम्प र सीका बीच द्वन्द्व चर्किंदै गयो भने स्वभावतः चीन रुसबाट टाढिन सक्छ । यस अवस्थामा ट्रम्प–पुटिन गठबन्धन फुट्न सक्छ । चीनले अमेरिका–पुटिनविरुद्धको गठबन्धनमा सहयोग गर्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ । यसो भएमा चीन युरोपियन युनियनलगायतको गठबन्धन अथवा धार सबल हुन सक्छ । तर ट्रम्प–पुटिनका बीचको मित्रता र अन्य लोकतान्त्रिक देशहरु र चीनका बीचको ध्रुवीकरण अप्राकृतिक ठहरिनेछ ।
यसले दिगोपना दिन सक्दैन । आ–आफ्नो देशको स्वार्थका हिसाबले क्षणिक धार निर्माण हुन सक्छ । जहाँसम्म भारतको विषय छ, यो देश रूससँग लामो समयदेखि नजिक छ । अहिलेको यो अवस्थामा उसले धेरै प्रकारका व्यापारिक फाइदा रुसबाट लिन सक्छ । यस अर्थमा पनि भारत ट्रम्प र पुटिनसँग संलग्नता दिन सक्ने सम्भावना रहन्छ । तर अमेरिकी नागरिकहरुले यो अवस्थामा आफ्नो देशलाई धकेल्न दिने छैनन् । ट्रम्पलाई ठूलो दबाब जनस्तरबाटै हुन सक्छ । चीनले व्यापारिक युद्ध, शीत युद्धलगायतका सबै प्रकारका युद्धका लागि अमेरिकालाई चुनौती दिइसकेको छ ।
यही अवस्थामा युक्रेनले आफू वार्तामा बस्न तयार रहेको, अस्थायी शान्तिका लागि पनि तत्पर रहेको र युक्रेनका खनिजहरु संयुक्त राज्य अमेरिकालाई दिनसमेत तत्पर रहेको पत्र पठाइसकेको छ । यस अर्थमा अब फेरि पनि वार्ता हुन सक्छ र यो वार्ताबाट ट्रम्पले ठूलो फाइदा आफ्नो देशलाई दिलाउन सक्नेछ । घाटामा युक्रेन हुनेछ भने नाममात्रको सार्वभौमसत्ताको संरक्षण पश्चिमा देशहरूले गरिदिनेछन् । सधैँभरि पश्चिमाहरूको उपनिवेशसरहको व्यवहारमा रहनेछ । अन्यथा विश्व परिवेशमा उल्लेख भएजस्तै नयाँ प्रकारका ध्रुवीकरण अवश्यम्भावी छ । यसले तेस्रो विश्वयुद्धको अवस्था सिर्जना भएमा पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।
तर हालका यी परिघटनाहरूबाट केही निष्कर्ष निकाल्न सकिन्छ । साना देशहरु र शक्ति सम्पन्न ठूला देशहरूको बीचको आन्तरिक नीति र वैदेशिक नीति पृथक हुँदो रहेछ । ट्रम्पले आफ्नो आन्तरिक नीति निर्धारण गरेर त्यसै अनुरूपको वैदेशिक नीति बनाउँदै छन् । साना र कमजोर देशहरू पहिले भूराजनीति विश्व परिवेशमा आफ्नो अवस्थितिको मूल्यांकन गरेर मात्र आन्तरिक नीति बनाउनुपर्ने परिस्थिति बन्दो रहेछ । दोस्रो हो, राजनीति र कूटनीतिमा कोही पनि स्थायी मित्र नहुने, स्थायी शत्रु पनि नरहने अवस्था बन्दो रहेछ । ट्रम्प र पुटिनको अहिलेको मित्रता हेर्दा यही पुष्टि हुन आएको छ । विश्वका अन्य ठूला देशहरूको व्यवहार र नीति हेर्दा यही प्रमाणित हुन्छ ।
आफ्नो व्यक्तिगत र राष्ट्रको फाइदाका लागि इतिहासलाई पनि विस्मरण गरिँदो रहेछ । उदाहरण ट्रम्पकै नीतिमा छ । सन् १८२३ मै राष्ट्रपति जेम्स मनोरोले अमेरिकी राष्ट्रहरूमा कसैले पनि हस्तक्षेप र आक्रमण नगरोस्, गरेमा पश्चिमा शक्तिहरुसमेत एक भई त्यसको मुकाबिला गरिनेछ भनेका थिए । ती देशहरूलाई शत्रुतापूर्ण व्यवहार गरिनेछ भन्ने मुनरो सिद्धान्तले पनि नेटो काटेको छ । लोकतन्त्रमा कानुनी राज्यको पालना कडाइका साथ गरिन्छ । यो नै लोकतन्त्रको मौलिक र महत्त्वपूर्ण सिद्धान्त हो । यसलाई ठूला लोकतान्त्रिक मुलुकहरुले नै उल्लङ्घन गर्दै गएका छन् ।
शक्ति सम्पन्न र ठूला राष्ट्रहरूले उनीहरूको हितमा जे–जसो गर्दा पनि ती कार्यहरू लोकतान्त्रिक सिद्धान्तको परिभाषाभित्र पारेका छन् । उदाहरणका लागि उपयुक्तवादको चरम प्रयोग इरानका रेजा पलवी, फिलिपिन्सका फर्डिनान्ड मार्कस, दक्षिण कोरियाका राष्ट्रपति सिगमन, दक्षिण भियतनामका गुयन वान थ्यु, इराकका सद्दाम हुसेन, अफगानिस्तानका घानी सबैमाथि भएको अन्यायका लागि इतिहास साक्षी छ । त्यसैले ठूला र शक्ति सम्पन्न राष्ट्रहरुबाट साना र कमजोर राष्ट्रहरु आजैबाट आफूलाई बचाउन आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षण गर्न गम्भीर बनौं ।
प्रतिक्रिया