पोखरा ।
पोखरा महानगरपालिकामा फेरि घुससहित एक कर्मचारी पक्राउ परेका छन् । महानगरपालिकाका उजुरी हेर्ने अधिकृत कपिल गिरीलाई घुस रकमसहित अख्तियार दुरुपयोेग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गिरीले पोखरा महानगरपालिकाविरुद्ध अख्तियारमा पर्ने उजुरी हेर्ने र अख्तियारसम्बन्धी उजुरीको जवाफदेही अधिकारीको रूपमा रहेका थिए ।
महानगरको फाइल फछ्र्यौट शाखामा कार्यरत गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपियाँसहित बिहीबार पक्राउ गरेको हो । उनले महानगरपालिकाकै अर्का कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको र सो उजुरी मिलाइदिन्छु भन्दै एक लाख रुपियाँ मागेको खुलेको छ ।
पोखरा न्युरोडमा रहेको महानगरपालिकाको कार्यालयअघि रहेको एक नर्सरीबाट उनलाई २५ हजार रुपियाँसहित रंगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले घुससहित पक्राउ परेको पुष्टि गर्नुभयो । अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत थिए । बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएका उनी केही समय वडानम्बर १७ मा कार्यरत थिए । हाल अख्तियारले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया