काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत ३८ आंगिक क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार पहिलो नेविसंघ, दोस्रो अनेरास्ववियु र तेस्रो अनेरास्ववियु (क्रान्तिकारी) छन् ।
यो निर्वाचनमा स्वतन्त्रले छलाङ मारेको छ । नेविसंघले १४, अनेरास्ववियुले १०, अनेरास्ववियु (क्रान्तिकारी) ले ८, स्वतन्त्रले ४ र समाजवादी विद्यार्थी युनियन (नेसपा) ले १ क्याम्पसमा विजय हासिल गरेका छन् भने उपत्यकाका ९ सहित २१ क्याम्पसको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
स्वतन्त्र उम्मेदवारले पुल्चोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरान, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा विजयी भएका छन् । स्वतन्त्र अध्यक्षलाई विभिन्न पार्टीले आफ्नो दाबी गरेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयं श्रेष्ठ, चितवन इन्जिनियरिङ क्याम्पसमा प्रज्ज्वल अधिकारी, पश्चिमाञ्चल इन्जिनियरिङ पोखरामा प्रकाश धामी, केन्द्रीय प्रविधि क्याम्पस धरान हात्तीसारमा अभिवन गुरागाईं रहेका छन् ।
एउटा क्याम्पसमा जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनले जित हात पारेको छ । दुईवटा क्याम्पसको नतिजा आउन बाँकी छ । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा मत गणना जारी छ । वागबजारस्थित पद्मकन्या क्याम्पसमा मतदान सकिएको छ । आजसम्म मतपरिणाम आउने अपेक्षा गरिएका त्रिविका ६२ वटा आंगिक क्याम्पसमा चुनाव हुनुपर्ने हो । तर, क्याम्पसमा संगठनहरूको आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन ।
त्रिविका १ हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो, कतिमा नतिजा आयो, यसको यकिन विवरण आएको छैन । करिब ४ सय सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको अनुमान गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार जित्ने आश भएका क्याम्पसमा आन्तरिक विवादका कारण नेविसंघको मत घटेको छ । महेन्द्र मोरङ क्याम्पसको विरासत तोडिएको छ भने कतिपय क्याम्पसमा झिनो मतान्तरले अन्य संगठनले जितेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले अपेक्षा गरेजस्तो परिणाम नभएपछि निरास हुनुपर्ने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले स्थगित क्याम्पसमा तत्काल निर्वाचन गरी परिणाम सुधार ल्याउने बताउनुभयो । अनेरास्ववियुमा आन्तरिक द्वन्द्व नभए पनि रणनीतिको अभावका कारण सोचेभन्दा कम सिट आएको छ । उपत्यकामा मीनभवन, महाराजगञ्ज नर्सिङलगायत क्याम्पसमा हार भएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले उपत्यकामा रोकिएका क्याम्पसमा संगठनको पकड राम्रो भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘पूरै निराश हुनुपर्ने अवस्था छैन, अब सुधार गरेर अघि बढ्नुपर्ने अवस्था भएको छ ।’ यो निर्वाचनले अनेरास्ववियु (क्रान्तिकारी) खुसी भएको छ ।
सो संगठनका इन्चार्ज हिमाल शर्माले क्रान्तिकारीले उत्कृष्ट नतिजा ल्याएको दाबी गर्नुभएको छ । ‘मोरङको महेन्द्र मोरङ, त्रिभुवन बहुमुखी, भोजपुर क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउनु नै संगठन सुदृढ भएको मान्न सकिन्छ’ –शर्माले भन्नुभयो । केही क्यापसमा गठबन्धनलाई पछारेर जित हात पारेको उहाँको भनाइ थियो ।
पाटनमा १६, पीएन, अस्कल र सिद्धनाथमा १० गते निर्वाचन
चैत ५ गते स्थगित भएका क्याम्पसमा धमाधम निर्वाचन भइरहेको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार पद्मकन्या क्याम्पसमा हिजो बिहीबार निर्वाचन भएको छ । पोखराको पृथ्वीनारायणमा, महेन्द्रनगरको सिद्धनाथ र उपत्यकाको अमृत साइन्स (अस्कल) क्याम्पसमा १० गते आइतबार निर्वाचन हुने भएको छ । मतदानलगत्तै स्थगित ललितपुरको पाटन संयुक्त क्याम्पसमा १६ गते शनिवार निर्वाचन हुने भएको छ ।
कुन क्याम्पसमा कसले जिते
नेविसंघ
१.थापाथली इन्जिनियरिङ क्याम्पस– प्रल्हाद खड्का
२.आयुर्वेद क्याम्पस कीर्तिपुर– निशान अर्याल
३.भक्तपुर बहुमुखी क्याम्पस– पुकार पराजुली
४.चिकित्सा क्याम्पस महाराजगञ्ज– विवेककुमार यादव
५.महाराजगञ्ज नर्सिङ क्याम्पस– बिन्दु पोखरेल
६.मेची बहुमुखी क्याम्पस झापा– निलम कार्की
७.गौरादह कृषि क्याम्पस झापा– सोर्निम अधिकारी
८.पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान– सागर बस्याल
९.महेन्द्र बहुमुखी क्याम्पस धरान– प्रसान राई
१०.सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा– पृथ्वीकुमार यादव
११.वन विज्ञान अध्ययन संस्थान हेटौंडा– श्यामराज भट्ट
१२.कृषि क्याम्पस लमजुङ– असिम वस्ती
१३.डोटी क्याम्पस– इन्द्र राणा
१४.डडेलधुरा शिक्षा क्याम्पस डडेलधुरा– गौरव ऐर
अनेरास्ववियु
१.नेपाल कमर्स क्याम्पस– विशाल रोकाहा
२.ललितकला क्याम्पस– आशिष पौडेल
३.महेन्द्ररत्न क्याम्पस ताहाचल– ईश्वर थापा
४.महेन्द्ररत्न क्याम्पस इलाम– विशाल कार्की
५.पोखरा नसिंङ क्याम्पस कास्की– प्रतिभा भण्डारी
६.धनकुटा बहुमुखी क्याम्पस धनकुटा– युवा तिमल्सिना
७.पोखरा क्याम्पस (वन)– अभिषेक शर्मा
८.धवलागिरि बहुमुखी क्याम्पस वागलुङ– अस्मिन शेख
९.नर्सिङ क्याम्पस नेपालगञ्ज– देवर्चना अधिकारी
१०.जुम्ला बहुमुखी क्याम्पस जुम्ला– लोकेन्द्र बुढा
अनेरास्ववियु (क्रान्तिकारी)
१.भोजपुर क्याम्पस भोजपुर– सविन तामाङ
२.नर्सिङ क्याम्पस विराटनगर– रोहित जापरिया
३.महेन्द्र मोरङ क्याम्पस विराटनगर– रोहित यादव
४.गोरखा क्याम्पस गोरखा– सुलभ अमगार्इं
५.त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा– मिलन घर्तीमगर
६.सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर– नरेन्द्रसिंह ठगुन्ना
७. स्नातकोत्तर क्याम्पस विराटनगर– प्रितम साह
८. जनप्रशासन क्याम्पस कीर्तिपुर– अनिकेत तिवारी
स्वतन्त्र
१.पुल्चोक इन्जिनियरिङ क्याम्पसमा– स्वयं श्रेष्ठ,
२.चितवन इन्जिनियरिङ क्याम्पसमा– प्रज्ज्वल अधिकारी
३.पश्चिमाञ्चल इन्जिनियरिङ पोखरामा– प्रकाश धामी
४.केन्द्रीय प्रविधि क्याम्पस धरान हात्तीसार– अभिवन गुरागाईँ
समाजवादी विद्यार्थी युनियन
१.महेन्द्र विन्देश्वरी क्याम्पस राजविराज– रञ्जित यादव
प्रतिक्रिया