माथिल्लो तहमा रहेका २५ करोडको मुख्य मालिक खोजिँदै

सुन तस्करीका विभिन्न तहमा रहेकाहरू पत्ता लाग्लान् ?


–लामाको मोबाइल फरेन्सिक ल्याबमा पठाइने
–भारत, नेपाल र चिनियाँ तस्करहरूको साँठगाँठ रहेको हुन सक्ने

काठमाडौं ।

संघीय राजधानी काठमाडौंमा नै सुन तस्करीका लागि लगिँदै गरेको २५ करोडभन्दा बढी रकम बरामद भए पनि सो रकमको वास्तविक मालिक को हो भन्नेबारेमा सरकारी अधिकारीहरू अझै अन्योलमा छन् । प्रहरीले चैत्र४ गते राती विशेष सूचनाका आधारमा काठमाडौंको उत्तर भेगमा पर्ने टोखा नगरपालिका–२ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो ।

प्रहरीका अनुसार सो रकम काठमाडौंको टोखाबाट त्रिशूली हुँदै चीनको केरुङतर्फ लैजाने तयारी गरिएको थियो । प्रहरीले सो रकम सुन खरिद गर्नकै लागि लैजान लागिएको दाबी गर्दै आइरहेको छ । प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकमा राखेर लैजान लागिएको सो रकम बरामद गर्नुका साथै रकम लिएर जान लागेका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका लामालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइसकेको छ । अब ती चालकमार्फत २५ करोड रुपियाँका मुख्य मालिक र तस्करीका योजनाकारहरू पत्ता लगाउनुपर्ने दायित्व विभागका अधिकारीहरूको काँधमा आएको छ । यस घटनापछि लामो समयदेखि केरुङ नाका हुँदै करोडौं रुपियाँको सुन तस्करी हुँदै आइरहेको अनुमान गर्न थालिएको छ । कतिपयले तस्कर र प्रहरीबीच सेटिङ नमिल्दा सूचना लिक भएको र २५ करोड बरामद भएको हुन सक्ने विश्लेषणसमेत गरेका छन् ।

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नमध्येको एक तहमा रहेका र २५ करोड नगदसहित पक्राउ परेका चालक लामामार्फत तस्करीको अन्य तह र मुख्य योजनाकारको खोजतलास गर्नुपर्ने भएको छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पक्राउ परेका लामा आफैं पनि प्रोफेसनल तस्कर भएको हुन सक्ने बताउनुभयो । लामा यसअघि ७ किलो सुनसहित १३ पुस २०७३ मा कलंकीबाट पक्राउ परेका थिए । केही वर्षपछि छुटेका उनी फेरि तस्करी धन्दामा लागेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
चालक लामाले बयानमा बताएअनुसार चीनको नाकासम्म उक्त ट्रक पु¥याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पु¥याउने गरेका थिए । फेरि यही शैलीमा उताबाट ट्रकमा सुन लिएर आउने र नाका कटाएपछि रसुवाबाट लामाले उक्त मालसमेत लोड भएको ट्रक गन्तव्यसम्म पु¥याउँदै आएका थिए । लामाको यस बयानले पनि उनले यस्ता तस्करीको कार्य लामो समयदेखि गर्दै आइरहेको पुष्टि भएको छ । लामाभन्दा माथिको नेक्ससका बारेमा भने उनले केही बताउन चाहेका छैनन् । यद्यपि, उनले सो पैसा चिनियाँ व्यक्तिले दिएको र आफूलाई पैसा भन्ने थाहा नभएको बताएका छन् ।


त्यसैले राजस्व अनुसन्धान विभागले लामालाई परिचालन गर्ने माथिल्लो नेक्सस खोज्ने गरी उनको २ वटा मोबाइललाई फरेन्सिक ल्याबमा पठाउने भएको छ । विभागका महानिर्देशक घिमिरेले लामाको साथमा रहेको मोबाइलमार्फत उनको सम्पर्कमा रहेका व्यक्ति र समूहको खोजी गरिने बताउनुभयो । ‘उनको दुईवटा मोबाइलमा हामीले सामान्य रूपमा हेर्दा केही पनि भेटेका छैनौं त्यसैले थप परीक्षणका लागि ती दुइटै मोबाइल फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेका छांै, त्यसका आधारमा केही फेला पर्न सक्छ कि भन्ने हाम्रो अपेक्षा छ’ –विभागका महानिर्देशक घिमिरेले नेपाल समाचारपत्रसँग भन्नुभयो । विभागका अनुसार बरामद गरिएको मध्ये युरो १३ लाख र अमेरिकी डलर ४ लाख रहेको छ । विभागले सो युरो र डलर कहाँबाट कसरी आयो भन्नेबारेमा पनि अनुसन्धान गर्नुपर्ने देखिएको जनाएको छ । ‘यो तस्करीमा सुन तस्करको ठूलै जालो संलग्न रहेको हुन सक्छ, सबैको बारेमा गम्भीर छानबिन थालेका छौं’ –विभागका एक अनुसन्धान अधिकृतले भने । ती अधिकृले यो तस्करीमा भारत, नेपाल र चिनियाँ तस्करहरूको साँठगाँठ रहेको हुन सक्ने बताए ।

लामाको साथमा रहेको मोबाइलमार्फत उनको सम्पर्कमा रहेका व्यक्ति र समूहको खोजी थालेका छौं । उनको दुईवटा मोबाइलमा हामीले सामान्य रूपमा हेर्दा केही पनि भेटेका छैनौं त्यसैले थप परीक्षणका लागि ती दुइवटै मोबाइल फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेका छौं, त्यसका आधारमा केही फेला पर्न सक्छ कि भन्ने हाम्रो अपेक्षा छ ।

चण्डीप्रसाद घिमिरे
महानिर्देशक, राजस्व अनुसन्धान विभाग