उदयपुरका छ क्याम्पस मध्ये दुईमा निर्वाचन र दुईमा स्थगित दुईमा बेवास्ता

3.67k
Shares

उदयपुर । 

उदयपुर जिल्लामा रहेका छ वटा सामुदायिक क्याम्पस मध्ये यही चैत्र ५ गते हुने स्ववियुको निर्वाचन २ वटा क्याम्पसमा हुने भएको छ भने २ वटा क्याम्पसमा स्थगित भएको छ । दुई वटामा भने विद्यार्थीहरूले नै निर्वाचन प्रति बेवास्ता गरेका कारण निर्वाचन प्रक्रियामा नै सहभागी भएको छैन ।

जिल्लाको चौदण्डीगढी नगरपालिकामा दुई बटा, सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा  दुई बटा ,कटारी नगरपालिकामा एक वटा र बेलका नगरपालिकामा १ वटा क्याम्पस रहेको छ । 

त्रियुगा नगरपालिकाको त्रियुगा जनता बहुमुखी क्याम्पसमा र सोही ठाउँको बरुवा क्याम्पसमा मतदाता नामावलीमा विद्यार्थी संगठनका बिचमा सहमति नभएपछि स्ववियु निर्वाचन स्थगित भएको छ । चौदण्डीगढी नगरपालिकाको बसाहास्थित नारद आदर्श शिक्षा क्याम्पस र सोही पालिकाको बेल्टारमा रहेको ज्योति जनता बहुमुखी क्याम्पसमा भने चैत्र ५ गतेका दिन निर्वाचन हुने भएको छ ।

कटारी नगरपालिकाको उदय श्री क्याम्पसमा अध्ययन गर्ने बढी ग्रामीण क्षेत्रका छात्राहरू रहेको र छात्रहरूको सङ्ख्या कम भएको, स्थानीय विद्यार्थी न्यून संख्यामा रहेको हुदा स्ववियु निर्वाचनमा चासो नदेखाएको क्याम्पस प्रमुख मुकेश थापाले बताउनु भयो । 

क्याम्पस प्रमुख थापाका अनुसार क्याम्पसमा अध्ययन गर्ने छात्राहरू बढी भएकोले राजनीतिमा भन्दा बढी पढाइमा ध्यान दिने गरेको र राजनीतिका विषयमा त्यति चासो नदिएको र संगठन निर्माणमा पनि बेवास्ता गरेका कारण स्ववियु निर्वाचनमा सहभागी नभएको बताउनु भयो ।

त्रियुगा नपाको दुई क्याम्पस त्रियुगा जनता र बरुवामा भने मतदाता नामावलीका विषयमा विद्यार्थी संगठनका बिचमा सहमति नहुँदा स्थगित भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख सह प्राध्यापक डा. कैलाश कुमार राईले भर्ना भएका ११ जना विद्यार्थीको आवश्यक कागजात र प्रक्रिया पुरा नभएकोले विद्यार्थी संगठन बिचमा सहमति नहुँदा निर्वाचन स्थगित भएको र यस क्याम्पसमा जम्मा १ हजार ५स य ३ जना मतदाता रहेको बताउनु भयो ।

बरुवा क्याम्पसका प्रमुख भीम बहादुर खड्काले पनि विद्यार्थी संगठन बिचमा मतदाता नामावलीकै विषयमा सहमति हुन नसक्दा निर्वाचन स्थगित भएको र ६ सय १० जना मतदाता रहेको बताउनु भयो । चैदण्डीगढीको बेल्टारमा रहेको ज्योति जनता बहुमुखी क्याम्पसका प्रमुख मनोज झाले चार विद्यार्थी संगठन नेकपा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघ र अशोक रार्यको  जनता समाजवादी पाटी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि उम्मेदवारी दिएको बताउनु भयो ।

४ राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध भएका करिब ३ सय ५० जना विद्यार्थी स्ववियु निर्वाचनका लागि मतदाता रहेको झाले बताउनु भयो । यसैगरी चौदण्डीगढी नगरपालिका भित्रकै बसाहामा रहेको नारद आदर्श शिक्षा क्याम्पसका प्रमुख राजकुमार राईले ४ दलका विद्यार्थी संगठन मध्ये नेकपा एमाले निकट अनेरास्ववियुले एकल रुपमा र अन्य तीन विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी संगठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएको र यस क्याम्पसमा जम्मा १८५ जना मतदाता रहेको बताए ।

उदयपुरको अर्को क्याम्पस बेलका नगरपालिका रामपुर ठोक्सिलमा रहेको बेलमा जनता क्याम्पसमा स्ववियु निर्वाचन नहुने सो क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुमन कटुवालले बताए ।  उनले हाल आफू सो क्याम्पसमा प्रमुख पदमा नरहेको जानकारी दिए पनि स्ववियु निर्वाचन नहुनुका कारणका बारेमा भने केही खुलाएनन् । सो क्याम्पसका क्याम्पस प्रमुख सावित्रा कटुवालसँग भने सम्पर्क हुन सकेन ।