काठमाडौं ।
चैत महिनाका लागि अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेकामध्ये दुई बैंकहरूले ब्याजदर घटाएका छन् । त्यस्तै, एक बैंकले बढाएको छ ।
चैत महिनाका लागि ब्याजदर बढाउनेमा कुमारी बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशत बिन्दुले बढाएको छ भने नेपाल बैंक र हिमालयन बैंक घटाएका छन् । नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतबिन्दुले घटाएको हो । त्यस्तै, हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत बिन्दुले घटाएको छ ।
चैत महिनामा एनआईसी एसिया बैंक र एनएमबी बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत र नेपाल बैंकको सबैभन्दा ५.५ प्रतिशत रहेको छ । हाल वाणिज्य बैंकहरूमा कुल निक्षेप संकलन ६० खर्ब २९ अर्ब रुपियाँ रहेकोमा कर्जा लगानी जम्मा ४८ खर्ब ४९ अर्ब रुपियाँ रहेको छ । जसका कारण अन्तर बैंक ब्याजदर पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ३.०४ प्रतिशत रहेको थियो ।
देशमा आर्थिक गतिविधिमा शिथिलता आउँदा कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन । जसले गर्दा एक वर्षदेखि ब्याजदर बढ्न सकेको छैन । यसले निक्षेपकर्तालाई नोक्सानी भए पनि ऋणीलाई भने लाभदायक रहेको छ । तथापि, पछिल्लो केही महिनामा भने कर्जाको मागमा सुधार हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ महिनाको अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २४५ अर्ब ३४ करोड रुपियाँ निक्षेप संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३९७ अर्ब २० करोड रहेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९ दशमलव ७ प्रतिशतले बढेको छ । त्यस्तै, कर्जा प्रवाह २८३ अर्ब ४६ करोडले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९७ अर्ब २१ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६ प्रतिशत, विकास बैंकहरूको ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३९ प्रतिशत रहेको छ । गत वर्ष वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरूको ११.१३ प्रतिशत र वित्त कम्पनीहरूको १२.७० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया