नेपालको गिर्दो छवि

1.03k
Shares

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि सत्ता सम्हालेपछि आफ्नो देशमा अवैधरूपमा भित्रिएका संसारको जुनसुकै देशका नागरिक भए पनि निष्कासन गर्ने प्रयासमा लागेका छन् ।

उनको मुलुकका लागि यो प्रयास प्रशंसायोग्य रहेको छ । यो अभियान चलाइरहँदा राष्ट्रपति ट्रम्पलाई एक देशभक्त व्यक्तित्वका रुपमा परिभाषित गर्दा कुनै फरक नपर्ला । संसारकै मान्छेका लागि अमेरिका सपनाको देश भएकोले वैधानिकरुपमा अमेरिका पुगेका अन्य देशका नागरिकलाई केही फरक नपर्ला तर लाखौँ खर्च गरेर अवैधानिक बाटोबाट अमेरिका पुगेका नागरिकका लागि अब अवैधानिक रुपमा बस्न सक्ने अवस्था रहेन ।


यति मात्र होइन, राष्ट्रपति ट्रम्पले संसारका अरु देशलाई विभिन्न रुपमा दिँदै आएको सहयोग रकमसमेत करिब ३ महिनाको लागि भनेर कटौती गरेका छन् । राष्ट्रपतिको यो कर्मले संसारका विभिन्न देशहरुले हतारमा के गर्ने ? भनेर निर्णय गर्न नसकिरहेको अवस्था छ । हाम्रो देशमा पनि विगतमा एमसीसीअन्तर्गत सहयोगको हात बढाएको र अन्य माध्यमबाट समेत विभिन्न क्षेत्रको उन्नतिका लागि भनेर आर्थिक सहयोग गर्दै आएको अमेरिकाले हाललाई सहयोग रकम दिन स्थगन गरेको छ । एमसीसीअन्तर्गतको आर्थिक सहयोगको रकमले सञ्चालन हुँदै गरेका हाम्रो देशका विभिन्न क्षेत्रका साना वा ठूला परियोजनाहरु अलपत्र परेका छन् ।

यदि राष्ट्रपतिले तोकेको समय सीमापछि पनि आर्थिक सहयोगले निरन्तरता पाउन सकेन भने हाम्रो अर्थतन्त्रमा ठूलै धक्का लाग्ने कुरा निश्चित छ । अमेरिकाले नेपाललाई एमसीसी परियोजनाअन्तर्गत गरेको आर्थिक सहयोगले हामीलाई फाइदाको साटो हानि गर्ने विज्ञहरूले बताउँदै अएका र त्यसलाई पास गर्नबाट रोक्नको लागि आम नागरिकका तर्फबाट समेत अथक प्रयास भए तापनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालका कार्यकारी प्रधानमन्त्री भएको कालखण्डमा बलजफतसँग एमसीसी पास भएको घोषणा आम जनताले सुन्नुपरेको थियो । त्यस बेला आम नेपाली जनता त्यसको विरुद्धमा थिए ।

त्यति भएर पनि बलजफत पास गराइएको एमसीसी परियोजनाको रकमको सही सदुपयोग भएको रहेनछ भन्ने कुरा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेपछि आम नेपाली जनतालाई थाहा भएको छ । आम नेपाली जनता मात्र होइन कि संसारले नै नेपालमा हुने गरेको भ्रष्टाचारका बारेमा थाहा पाए । राष्ट्रपति ट्रम्पको यो भनाइ र कार्यसँगै हामी तीन करोड नेपाली जनताको शिर निहुँरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा हाम्रो देशको छवि गिरेको छ । हाम्रा शासकहरुले हामीलाई इमानदार नेपाली भएर बाँच्नसम्म दिएनन् भनेर दुखेसो गर्नुपरेको छ । एकजना नेपाली खेलाडीले खेलमा विजेता बनेर विश्वरङ्गमञ्चमा हाम्रो शिर गौरवले ठाडो हुन्थ्यो । एक नेपाली कलाकारले विदेशमा समेत नाम फैलने गरी कलाको सिर्जना गर्दा हामीलाई अथाह गर्वको अनुभूति हुन्थ्यो । तर आज हाम्रा शासकहरुको कुकर्मले गर्दा भ्रष्टाचारी शासकका शासनमा जकडिएका जनताको नाममा दर्ज हुन पुग्दै छौँ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका शासकलाई भ्रष्टाचारीको संज्ञा दिएर मात्रै केही भएको थिएन तर हामीले आफूलाई र आफ्नो देशको भलाइका लागि विभिन्न योजना पूरा गर्न सहयोग गर्ने दाता देशसँगको विश्वाससमेत गुमाउन पुग्यौँ । अबका दिनमा त्यो विश्वास फर्काएर पूर्वरुपमा ल्याउनको लागि हामीलाई धेरै कठिनाइ हुनेछ ।

अमेरिकाले मात्रै होइन कि संसारका अन्य दाता राष्ट्रहरूले समेत हामीलाई गर्ने आर्थिक सहयोग कटौती गर्न बेर लाउने छैनन् । त्यसपछि हाम्रा आयोजनाहरु चौपट भएर जाने अवस्था आउनेछ । भ्रष्टाचार गर्न पल्केकाहरुले पुनः यही क्रम दोहो¥याइरहेको खण्डमा हाम्रो देशको आर्थिक अवस्था डामाडोल भएर जानेवाला पक्का छ ।

आउँदा दिनमा अरुको सहयोग कुरेर बस्नुको साटो आर्थिक उन्नतिका हरेक क्षेत्रमा हामी स्वयंले पहुँच बढाउनुपर्नेछ । हाम्रा युवा जनशक्तिलाई विदेश पठाएर रेमिट्यान्सको आशा गर्नुको साटो स्वदेशमै बस्ने वातावरण बनाएर हरेक क्षेत्रका उन्नतिका लागि कामयावी बनाउन सक्नुपर्ने हुन्छ । राजनीतिमा लागेका र राजनीतिमा लाग्न चाहनेले सदाचारी बनेर आफ्नो कमाइले धान्ने मात्रको जीवन जिउने प्रयासमा लाग्नुपर्ने हुन्छ । नयाँ पुस्ताका युवापिँढीलाई सिकाउनुपर्ने सबैभन्दा महान् शिक्षा भनेको सदाचारको शिक्षा हो । यदि नयाँ पुस्ताले पनि सदाचारको पाठ पढेर त्यसलाई व्यवहारमा उतार्ने काम गर्न सकेनन् वा तदनुसारको वातावरण बन्न सकेन भने आजको तुलनामा देशमा अझै भयावह अवस्था सिर्जना हुनेवाला छ ।

नेपाल आफैँमा प्रकृतिले सुन्दर बनाएको देश हो । यसलाई भौतिक सुधारको त्यति धेरै खाँचो पर्नेवाला छैन । प्रकृतिले यति धेरै सुन्दर बनाएको मात्र होइन कि यहाँ प्राकृतिक सम्पदाको समेत अथाह भण्डार रहेको छ । ती भण्डारहरुमध्ये हामीले फारोतिनो गरेर आउँदा नयाँ पुस्तालाई पनि चाहिन्छ, आजको पुस्ताले मात्र सकेर वा रित्याएर हुँदैन भन्ने मानसिकताका साथ तिनको चुस्त–दुरुस्त उपयोग गर्ने हो भने हामीलाई कसै विदेशीको आर्थिक सहयोगको खाँचो पर्नेवाला छैन ।

तर यसका लागि जनताले फलानो व्यक्ति शासक भएको खण्डमा आज हामीले सोचेजस्तै उन्नतिको फड्को मर्छ भन्ने भनाइको कदर गर्न सकेको खण्डमा यो असम्भव कुरा कति पनि होइन । विदेशीसँग याचना गरिने भनेको नेताले आफ्नो खल्ती भर्नको लागि हो रहेछ, त्यसैले हामी आफैँ सहृदयी बनेर लागिपरेको खण्डमा हामी आफैँले कल्पना गरेको अमेरिका नेपालमै बन्न सक्नेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हाम्रा नेतालाई भ्रष्टाचारीको संज्ञा दिइरहँदा यिनका हृदयले सकारात्मक बुझाइ महसुस गरेर आत्मग्लानिको अनुभूत गर्न सकेका भए यिनका हृदयभित्रको सकारात्मक पाटोको भावना बढेर जाने थियो । आत्मग्लानिले यिनका कर्ममा थोरै भए पनि सुधार आउने थियो होला । अहंताको भाषाको स्थानमा सुमधुर ध्वनि गुञ्जने थियो होला ।


अब वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पलाई जस्तै हाम्रो देशको नेतृत्व वर्गलाई पनि देशको साँचो भक्त बन्न मन लाग्ने वा उत्साह जागेर आए हुन्थ्यो । तर हाम्रा नेतृत्वमा पुगेका र आशा लाग्दा नेताहरु नै सबै विदेशीसँग मागेर देश चलाऔँ भन्ने खालका र सोचका छन् । यिनको यो सोचमा आमूल परिवर्तन आएन र यिनै साँघुरो सोचका नेताले शासन चलाइरहे भने अबका दिनमा मात्र होइन कि अबको आधा शताब्दीपछिका दिनमा पनि हामीले आजकै जस्तो नियति भोग्नुपर्ने हुन्छ । हाम्रा नेताहरू भ्रष्टाचारीकै बिल्ला भिरेर लाचारीपूर्वक त्यसैमा रमाइरहनेछन । देशको अवस्था लथालिंग भएर जानेछ ।


हामीले केही समयसम्म राजतन्त्रलाई निकै घृणा गरेका छौँ र थियौँ पनि तर नेपालको राजतन्त्रलाई त्यति धेरै घृणा गर्नुपर्ने कारण गतिलो छैन । हाल आएर राजतन्त्रप्रतिको घृणा कम भएर सम्मान अलि बढेर जान थालेको छ । यसै मेसोमा राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने र केही सम्मान दिने काम पनि भएको छ । यति भएर पनि उनले अभिव्यक्त गरेका मार्मिक र यथार्थ भनाइको अनुशरण गर्न नसकेका कारणले गर्दा हाम्रो परनिर्भरता दिनप्रतिदिन अधिक मात्रामा बढेर जान थालेको छ ।

जसको परिणाम अमेरिकी एमसीसी परियोजना र त्यसै अन्तर्गतको घोटाला काण्डका कारणले गर्दा हाम्रो शिर निहुँरिएको हो ।
हामीकहाँ भएका विभिन्न प्राकृतिक स्रोतहरुमा जलस्रोतको उपयोगले मात्र केही मात्रामा फड्को मार्दै छ । जलस्रोतको जत्तिकै अन्य स्रोतले पनि फड्को मार्ने हो भने हामीलाई विदेशी सहयोग पनि नभई नहुने हुँदैन । आर्थिक अभावका कारणले निरुपाय बनेर भौँतारिनुपर्ने अवस्था कति पनि आउँदैन । आर्थिक क्रान्तिका बाहक युवा जनशक्तिलाई सही रुपमा परिचालन गर्न सकियो भने हामी गरिब र मागिखाने मात्रै भएर बसिरहने छैनौँ । तर यी सबैका लागि देशको माया र इच्छाशक्तिको जरुरत पर्दछ ।

हाम्रो नेतृत्व वर्गमा ज्यादातर व्यक्तिगत स्वार्थ बढेर गएका कारणले गर्दा देशप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्न नसकिरहेको अवस्था विद्यमान छ । त्यसैले आजको राजनीतिका नायक तथा सञ्चालक मानिने सम्मानित नेतागणमध्ये अधिकांश नेता आम जनताको कोपभाजनको सिकार बन्नुपरिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हाम्रा नेतालाई भ्रष्टाचारीको आरोपण गरिरहेका बेलामा आम नेपाली जनताका लागि प्यारा र इमानदार देशभक्त अनि देश र जनताको स्वार्थका लागि बलिदान गर्ने नेता हुँदा हुन् त आम जनतालाई ट्रम्पको अभिव्यक्तिले रिस थपिदिने थियो ।

तर विडम्बना, ट्रम्पले उक्त अभिव्यक्तिका साथ भ्रष्टाचारीको आरोपण गरिरहँदा ट्रम्पले ठिक्कै भनेका हुन् भन्ने मानसिकताको सोचाइसँगै केही मानसिक प्रफुल्लतासमेत थपिएको महसुस हुँदै थियो । यतिका घटना भइसकेर पनि यिनले सुध्रने छाँटकाँट नदेखाएको खण्डमा जनताको नेतृत्वप्रतिको घृणा र तिरस्कार अझै बढेर जानेवाला छ । अनि बरु यिनको विरुद्धमा विगतको बैरी नै साधु बिरालो बनेर आए पनि पत्याउने अवस्था समयले सिर्जना गर्नेछ ।

हाम्रा वर्तमान शासक केपी ओलीलाई काठमाडौँका महानगरका प्रमुख बालेन्द्र शाहले याचना गर्दै थिए । कम्तीमा महानगरको प्रमुख नभनेर एउटा सच्चा र इमानदार नेपाली भनी बनाएको परिचय बोकेर त बाँच्न देऊ भनेर भन्दै थिए । प्रधानमन्त्रीले यो भनाइको मर्म बुझे वा बुझेनन् वा बुझ्नै चाहेनन्, यो उनको निजी विषय भयो ।

तथापि बालेनले भनेजस्तै हामी आम जनताले पनि इमानदार भएर बाँच्न र परिचय बनाउन नपाइने हो त ? हाम्रा शासकलाई अमेरिकाजस्तो संसारको शक्तिशाली मुलुकका सबैका पिता शासकले भ्रष्टाचारीको आरोप लगाइरहँदा केहीबेर हाम्रा शासकका कर्तुत सम्झेर ठिक्कै हो जस्तो लागे पनि समग्रमा हाम्रा शासकसँगै आम नागरिकलाई पनि देखाउन र नाक काट्न त खोजिएकै हो त । अनि कसरी बाँच्न सकियो त इमानदार र स्वावलम्बी नेपाली नागरिक भएर ? अन्त्यमा देशको छवि बिगार्ने काममा शासकदेखि आम जनतासम्म कसैले पनि हर्कत नगर्नु पनि एक इमानदार नेपाली बन्नुसरह नै हो ।