११ अर्ब ३ करोड कर निर्धारण भए पनि किन हुन सकेन असुली ?

थप छानबिनमा रहेका २३ सय करदातामाथिको अनुसन्धान सुस्त


–करछली गरेका १९८६ मध्ये अधिकांश करदाता अदालतमा
–१० वर्षअघि भएका फेक बिलमा पनि भएको थियो छानबिन
–अदालतले चाँडै निर्णय दिनुपर्ने विभागका अधिकारीको माग

काठमाडौं ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०-८१ मा कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदाता बाट ११ अर्ब ३ करोड १७ लाख रुपियाँ असुली गर्ने निर्णय गरे पनि त्यस्तो रकम असुलउपर गर्न विभागले पछिल्लो दिनमा तदारुकता देखाउन सकेको छैन ।

विभागको प्रशासनिक नेतृत्वमा रहने महानिर्देशक छोटोछोटो समयमा परिवर्तन भइरहँदा त्यस्तो रकम असुलउपर गराउन विभाग र मातहतका कार्यालयहरू सुस्त देखिएका हुन् । विभागका तत्कालीन महानिर्देशक शिवलाल तिवारीले झण्डै ९ महिनाअघि आर्थिक वर्ष २०८०÷८१ को झुट्टा तथा नक्कली बिजकको अनुसन्धान सम्पन्न गरी १९ सय ८५ करदाताबाट ११ अर्ब ३ करोड १७ लाख रुपियाँ असुलउपर गर्ने निर्णय गराउनुभएको थियो ।

त्यसलगत्तै गत भदौमा महानिर्देशक तिवारीको अन्यत्र सरुवा भएपछि त्यति धेरै रकम असुलउपर गराउने कार्यले गति लिन नसकेको विभागका अधिकारीहरूको भनाइ छ । तिवारीपछि विभागमा महानिर्देशकको रूपमा आउनुभएका रामप्रसाद आचार्यको पनि छोटो समयमा नै अन्यन्त्र सरुवा भइसकेको छ र हाल महानिर्देशकको रूपमा मदन दाहाल आउनुभएको छ ।


त्यसरी यो आठ महिनाको अवधिमा विभागमा तीन जना महानिर्देशकको फेरबदल हुँदा विभाग अस्थिर बनेको हो । जसका कारण आर्थिक वर्ष २०८०-८१ मा कर निर्धारण गरिएका व्यापारीहरूबाट कर असुल हुने क्रम प्रभावकारी हुन सकेको छैन भने आर्थिक वर्ष २०८१-८२ को झुट्टा तथा नक्कली बिजकको अनुसन्धान प्रक्रिया पनि करिबकरिब अवरुद्धजस्तै भएको बताइएको छ । तत्कालीन महानिर्देशक तिवारीको पालामा आर्थिक वर्ष २०८१-८२ मा पनि कर छलीमा संलग्न करिब २३ सय करदातामाथि अनुसन्धानसमेत थालिएको थियो ।

आठ महिनाअघि मात्रै विभिन्नखाले उच्च दबाबका बाबजुद विभागको नेतृत्वले विभिन्न व्यापारिक फर्मबाट भएको करछली पत्ता लगाउँदै ती फर्महरूबाट राज्यकोषमा आउनुपर्ने रकम असुली गर्ने गरी महत्वपूर्ण निर्णय गरेको थियो । जसमा आयकरतर्फ ७ अर्ब २० करोड ३० लाख र मूल्य अभिवृद्धि करतर्फ जरिवानासहित ३ अर्ब ८२ करोड ८७ लाख निर्धारण गरिएको थियो ।
आन्तरिक राजस्व विभागका एक अधिकारीले गत आवमा कर असुली निर्धारण गरिएकामध्ये आधाभन्दा बढी व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरू करछलीबाट उम्कन अदालत गएको बताए ।

ती व्यवसायी तथा व्यापारिक फर्महरूलाई कर कार्यालयहरूले गरेको कर निर्धारणमा चित्त नबुझेमा विभागका महानिर्देशकसमक्ष उजुरी गर्र्नुपर्ने कानुनी प्रावधान रहे पनि सो प्रावधानलाई चुनौती दिँदै अधिकांश व्यापारिक फर्महरू अदालत जाने र अदालतलाई प्रभावमा पारेर कर छलीबाट उम्कने र राज्यलाई तिर्नुपर्ने रकम नतिर्ने प्रवृत्ति बढ्दै गएको विभागका अधिकारीहरूको भनाइ छ ।

‘त्यस्तै चलाखी अपनाउँदै गत वर्ष कर छली गरेर असुलउपर गर्नुपर्ने र सजाय तोकिएका १९८६ करदातामध्ये आधाभन्दा बढी अदालत गएको देखिएको छ, जसका कारण राज्यकोषमा आउनुपर्ने अर्बौं रकम आउन सकेको छैन’ –विभागका ती अधिकारीले नेपाल समाचारपत्रसँग भने । उनले राज्यकोषमा आउनुपर्ने रकमममा लुट मच्चाउन खोज्नेहरूविरुद्ध अदालत कठोर बन्नुपर्ने र राज्यको पक्षमा फैसला हुनुपर्ने आवश्यकता औंल्याए ।

‘करछलीसम्बन्धी कैँयौं मुद्दाहरू वर्षौैंदेखि अदालतमा विचाराधीन भएकाले विभाग र मातहतका कार्यालयहरूलाई कर असुली गर्न कठिन भइरहेको छ, अदालतले यस्ता विषयमा छिटोभन्दा छिटो टुंगो लगाइदिनुपर्छ’ – विभागका अर्का एक अधिकारीले भने ।

विभागले अघिल्लो आर्थिक वर्षमा १० वर्षअघि भएका फेक बिल, राजस्व चुहावट र बदमासीका बारेमा समेत छानबिन गरी कर निर्धारण गर्दै त्यस्ता फर्मसँग समेत कर असुली गराएको थियो । राज्यकोषमा आउनुपर्ने राजस्व छली हुने विषय गम्भीर अपराध भएकाले आगामी दिनमा समेत यस प्रकारका छानबिनलाई निरन्तरता दिएर छली गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने देखिएको छ ।
विभागका अधिकारीहरूले छानबिन र अनुसन्धानका क्रममा कर छली गर्ने फर्म तथा कम्पनीहरूले पूरै फेक बिल किनेर व्यवसायमा समावेश गरेको, नक्कली बिल बनाएर कारोबार गरेको, कतिपय नक्कली बिल किनेको र नक्कली बिल प्रयोग गरी कर फिर्तासमेत लिएर बदमासी गरेको पाइएको बताउँदै आइरहेका छन् । कारोबार नै नगर्ने तर बिलमात्रै बेच्ने, खरिद बिक्रीसम्बन्धी मूल्य मिलाएर, मूल्य अभिवृद्धि कर (भ्याट) बिल, प्यान बिल नक्कली बनाएर राजस्व छली हुने गरेको विभागका अधिकारीहरूले बताएका छन् ।

राजस्व चुहावट हुने क्रम नरोकिँदा सरकारले लक्ष्य गरेअनुसार राजस्व संकलन हुन सकिरहेको छैन । आन्तरिक राजस्व विभागको यस प्रकारको अनुसन्धान, छानबिन कर निर्धारण र असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सकेमा तथा अदालत पनि राजस्व छली गर्नेहरूविरुद्ध कठोर बन्न सकेमा राजस्व संकलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा सरोकारवालाको छ ।