आज उपाधिका लागि खेल्दै नेपाल


काठमाडौं ।

चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्नेछन् । लिगमा यी दुवै टोलीले २–२ बराबरी खेलेका थिए । यस खेलमा नेपाल दुईपटक पछि परेर पनि खेल बराबरीमा समाप्त गर्न सफल भएको थियो । लिग चरणमा नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई हराएका थिए ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले उपाधि जित्न हरसम्भव प्रयास गर्ने बताएकी छन् । फाइलनअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा अञ्जिलाले भनिन् ‘हामी धेरैपटक उपाधि नजिक पुगेर चुकेका छौं । बुधबार पनि त्यसलाई दोहो¥याउन चाहँदैनौं । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न आफ्नोतर्फबाट शतप्रतिशत दिनेछौं । सबैमा जसरी पनि उपाधि जित्नु पर्छ भन्ने भावना छ ।

उनले विपक्षी टोलीबारे बताइन्—‘म्यानमार उत्कृष्ट टोली हो । उनीहरू पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । तर, हामी तयार छौं । खेल रोमाञ्चक हुने अपेक्षा छ । गल्तीहरू सुधार गर्दै प्रशिक्षकको योजनाअनुसार प्रदर्शन गर्न सक्यौं भने च्याम्पियन बन्ने छौं ।’

नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यो प्रतियोगिताअघि सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो ।