हेटौंडा ।
चर्च ब्वाइजले मकवानपुरको वागमती गाउँपालिकामा भएको सातौं संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
वागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले पहिलो सहभागितामै उपाधि जित्यो ।
चर्च ब्वाइजले १० लाख र मछिन्द्रले ५ लाख नगद हासिल गरे । ललितपुरको क्लब चर्च ब्वाइजलाई उपाधि दिलाउन समीर तामाङले ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्लेयर अफ दी म्याच घोषित भएका उनले १० हजार नगदसमेत प्राप्त गरे ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन रानामगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार प्राप्त गरेका थिए ।
प्रतिक्रिया