–चालू आवमा २५ मध्ये ६ वटामात्रै बन्ने
–जलविनायकाको काम शुरू, ५० लाख विनियोजन
कीर्तिपुर ।
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक मन्दिरको खण्डहर संरचना पुनःनिर्माण शुरू भएको छ । असोज ११ र १२ गते आएको बाढीका कारण क्षतिग्रस्त सत्तल र वागमती नदीसँगै रहेको भकारी क्षतिग्रस्त थियो ।
क्षतिग्रस्त सबै संरचना पुनःनिर्माण शुरू भएको छ । कीर्तिपुर नगरपालिकाको पहलपछि पुरातत्व विभागले क्षतिको आँकलन गरेको थियो । लगत्तै विभागले मन्दिर परिसरको संरचना पुनःनिर्माण गर्न ७० लाख रुपियाँ लाग्ने अनुमान गरेको थियो । अहिले पुनःनिर्माण गर्न अनुमान गरेभन्दा २० लाख कम उपलब्ध गराएको छ । ‘५० लाख रुपियाँ आएको छ, उक्त रकमबाट पुनःनिर्माण शुरू गरेका छौं’ –कीर्तिपुर नगरपालिका–६ का वडाअध्यक्ष खिरमानसिंह बस्नेतले भन्नुभयो । नगरपालिकाले ५ दिनअघिबाट पुनःनिर्माण शुरू गरेको हो ।
अध्यक्ष बस्नेतका अनुसार वर्षाअगावै काम सक्ने गरी पुनःनिर्माणको काम शुरू गरेका छौं । उपत्यकाको पानीको निकास गल्छीसँगैको जलविनायक मन्दिरको अवस्था र संरचना बिजोग छ । मन्दिरसँगैको वासुकी नाग रहेको स्थानसमेत क्षतिग्रस्त भएको छ । पहिलो चरणमा क्षतिग्रस्त सत्तल र भकारी पुनःनिर्माण गर्न उपभोक्ता समिति गठन भएको छ । समितिमार्फत काम शुरू गरेको वडाध्यक्ष बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभाग, पुरातत्व र कीर्तिपुर नगरपालिकाको पहलपछि अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेको हो । ‘५० लाख प्राप्त भएको छ, अपुग रकम कीर्तिपुर नगरपालिकाले व्यवस्थापन गर्ने तयारी छ’ –अध्यक्ष बस्नेतको भनाइ छ । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले जनविनायक मन्दिर पुनःनिर्माण गर्न अर्थ मन्त्रालयमार्फत प्राधिकरणले रकम व्यवस्थापन गरेको बताउनुभयो ।
मन्दिरमा क्षति नभए पनि पूर्वतिर रहेको सत्तल र सयौं वर्ष पुरानो भकारी क्षतिग्रस्त भएको थियो । वडा कार्यालयले पहिलो चरणमा सत्तल, पेटी र भकारीको पुनःनिर्माण गर्न लागेको हो । त्यसका लागि संरचना हटाउन शुरू गरेको छ ।
दोस्रो चरणमा वासुकी नाग स्थान र अन्य संरचना पुनःनिर्माण गर्ने तयारी गरेको छ । यसअघि तत्काल समस्या समाधान गर्न वर्षालगत्तै बाढीले क्षतिग्रस्त गरेलगत्तै वडा कार्यालयले केही बजेट व्यवस्थापन गरी संरक्षण गरेको थियो । यसैबीच चालू आवमा करिब ६ ओटा मात्र संरचना पुनःनिर्माण हुने भएको छ । बाँकी सम्पदा आगामी वर्ष पुनःनिर्माण हुनेछन् ।
पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जलविनायक, टीकाभैरव, पनौती र जाजरकोटका केही संरचनामात्र पुनःनिर्माण हुने जानकारी दिनुभयो । सोही आधारमा अर्थ मन्त्रालयले बजेट निकासा शुरू गरेको छ । अब धमाधम पुनःनिर्माणको काम शुरू हुनेछ – विभागका महानिर्देशक प्रधानाङ्गले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार यो वर्ष अधिक क्षति भएका सम्पदाहरूको मात्र पुनःनिर्माण गर्ने तयारी छ । देशभर २५ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये सबैभन्दा धेरै ललितपुरको महांकाल गाउँपालिकाको सम्पदामा क्षति पुगेको छ । तीबाहेक, रामेछाम, मन्थली, गोरखा, चागुँनारायण, ललितपुरको गोदावरीका छन् ।
ललितपुरको महांकाल गाउँपालिकास्थित तार्केश्वर महादेव मन्दिरको ६४ शिवलिंग र सत्तलमा सबैभन्दा धेरै क्षति पुगेको छ । यो वर्ष पनौतीको त्रिवेणीघाटस्थित नित्यभजन पाटी, लंकेश्वर महादेव मन्दिर, गोरखा दरबारस्थित गणेश मन्दिर पछाडि रहेको कालीमन्दिर, लेलेस्थित लिच्छविकालीन अभिलेख र टीकाभैरव मन्दिर पुनःनिर्माण हुनेछन् ।











प्रतिक्रिया