काठमाडौं ।
युवा तथा खेलकुद मन्त्रालयले आइतबार अपराह्न ४ बजे २७ वटा राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवलाई लेटरप्याड र छापसहित बैठकमा बोलाएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका स्वकिय सचिव तेजेन्द्र चौधरीद्वारा गरिएको पत्राचारमा खेलकुदमन्त्री चौधरीको कार्यकक्षमा आइतबार विशेष बैठकको आयोजना हुन गइरहेको जानकारी गराएको हो । जसमा २७ वटा राष्ट्रिय खेल संघका अध्यक्ष तथा महासचिवलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
मन्त्रालयले गरेको पत्राचारमा खेलकुदमन्त्री चौधरीको कार्यकक्ष सिंहदरबारमा हुने विशेष बैठकमा २७ वटा संघका पदाधिकारीलाई आफ्नो संघको आधिकारिक लेटरप्याड र स्ट्याम्प (छाप) समेत लिएर आउन अनुरोध गरिएको छ । उक्त बैठक के का लागि र किन भन्ने ब्यहोरा चाहिँ खुलाइएको छैन । उक्त विशेष बैठकको एजेन्डा गोप्य राखिएको छ ।
खेलकुद मन्त्रालयले आज बोलाएको बैठक नेपाल ओलम्पिक कमिटीले गरेको निर्वाचनको विषयमा केन्द्रित हुने अनुमान गरिएको छ । उक्त निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २७ वटा खेल संघले सहभागिता जनाएका थिए । उक्त निर्वाचन विरुद्धमा परेको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ ।











प्रतिक्रिया