आईओसीद्वारा ओसीएलाई एनओसी विवाद हेर्ने जिम्मा


काठमाडौं ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आइओसी) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको विवादलाई समाधान गर्न ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) लाई जिम्मा दिएको छ ।

आईओसीले शुक्रबार एक पत्रमार्फत नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सम्बोधन गर्दै एनओसीमा देखिएको विवादलाई समाधान गर्न ओसिएलाई भूमिका निभाउन जिम्मा दिएको उल्लेख गरिएको हो। एनओसी सम्बन्ध, ओलम्पिक एकता र ओलम्पिज्म ३६५ निर्देशक जेम्स म्याकलियोडद्वारा हस्ताक्षरित उक्त पत्रमा ओलम्पिक काउन्सिल अफ एसियालाई सबै सम्बन्धित पक्षहरूसँग बैठक गर्ने जिम्मेवारी दिइएको छ । जसमा ओलम्पिक काउन्सिल अफ एसियाले सबै सम्बन्धित पक्षहरूलाई सिधै सम्पर्क गराउनु भनेर पनि निर्देशन दिइएको छ ।

हाल भइरहेको एनओसी विवाद विषयमा एनओसी अध्यक्ष श्रेष्ठले अदालतमा विचाराधीन मुद्दामा सरकारी हस्तक्षेप भएको बताउछन् । उनी भन्छन् -“सार्वजनिक रुपमै राष्ट्रिय खेल संघहरुलाई कारवाही र विघटन गर्ने भनेर सरकारले एकपक्षीय रुपमा कदम चाल्नु संविधान र ओलम्पिक चार्टरको मर्म विपरीत हो । हामी समस्याको समाधान गर्नतर्फ अग्रसर छौं, तर सरकारी पक्षको पछिल्ला कदमले भने समस्यालाई जटिलतातर्फ अघि बढाइरहेको देखिन्छ ।”