उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना गायब

काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा

1.5k
Shares

वायु प्रदूषणका कारण वर्षेनी ४८ हजारको निधन

काठमाडौं ।

वायु प्रदूषणको हिसाबले काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ । बिहीबारको ‘एयर क्वालिटी इन्डेक्स’ मा देखिएको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक एक्युआई बिहान ११ बजेर १२ मिनेटमा १८३ पुगेको हो ।


पाकिस्तानको कराँची २२४ एक्युआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडौं सहर रहँदा तेस्रो स्थामा चीनको उहान सहर रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मान्ने गरिएको छ ।


उपत्यकामा प्रदूषणको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ५ वर्षअगाडि मन्त्रिपरिषद्ले पारित गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ लाई कार्यान्वयन नगर्दा यस्तो समस्या आएको विज्ञहरूले बताएका छन् । वातावरणविद् भूषण तुलाधरले कार्ययोजनामा मानवले गर्नुपर्ने १३७ वटा कार्य तोकिएको छ । यसको कार्यान्वयन गर्न नेपाल सरकार चुकेको बताउनुभयो ।


वातावरण विभागका अनुसार, वायु गुणस्तर सूचकांक सयभन्दा माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थामा लामो समयसम्म वायुमा रहँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने बताइएको छ ।
वातावरणविद् तुलाधरले वायु प्रदूषण मानवीय र प्राकृतिक कारणले बढिरहेको बताउनुभयो । उहाँले अमेरिकाबाट हरेक वर्ष प्रकाशित हुने ‘ग्लोबल एयर २०१९’ भन्ने म्यागजिनको तथ्यांकअनुसार वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ४८ हजार ५ सय नेपालीको मृत्यु हुने गरेको बताउनुभयो । प्रदूषणका कारण घाँटी दुख्ने, आँखा पिरो हुनेजस्ता समस्या देखिन्छन् भने दीर्घकालीन रूपमा यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउने विज्ञहरूले बताउँदै आएका छन् ।


जाडो मौसममा इँटा भट्टा चल्ने, पानी नपर्ने, सवारी साधनबाट निस्कने धुवाँका कारण वायु प्रदूषण हुने गरेको पाइएको छ । वातावरण विभागका अनुसार, पछिल्लो समय देशका विभिन्न स्थानमा लागेको डढेलो र सवारी साधनबाट निस्कने हानिकारक धुवाँका कारण प्रदूषणको स्तर उच्च रहेको छ ।

वायु प्रदूषणको यो अवस्थाले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । विशेषगरी, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, दीर्घरोगी, बालबालिका तथा गर्भवती महिलाहरूले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।


टुँडिखेलको धुलोले आजित हुँदै बटुवा

टुँडिखेलको खुल्ला चौरमा रहेको धुलो उड्दा वरपरका हिँड्ने बटुवा आजित भएका छन् ।

काठमाडौंको केन्द्रमा रहेको टुँडिखेलमा मैदानमा रहेको माटो उड्दा प्रदर्शनीमार्गबाट निस्कने र रत्नपार्कबाट भद्रकालीतर्फ हिँड्ने बटुवाले सास्ती बेहोर्नुपरेको हो ।

हावा नलाग्दा सामान्य अवस्था रहे पनि हावा चल्दा कुहिरो लागेको जस्तो गरी धुलोले ढाक्ने गरेको छ । यसको मारमा बटुवा र मोटरसाइकल चालक प्रत्यक्ष रुपमा परेका छन् ।