न्युक्यासल काराबाओ कपको फाइनलमा


एजेन्सी ।

न्युक्यासल युनाइटेड इंग्लिस इएफएल (काराबाओ) कप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा न्युक्यासलले आफ्नो घरेलु मैदानमा पाहुना टोली आर्सेनललाई २–० गोलअन्तरले हराएको हो।

यो जितसँगै न्युक्यासल समग्रमा आर्सनललाई ४–० ले हराउँदै फाइनल प्रवेश गर्न सफल भयो। यसअघि आर्सेनलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा पनि न्युक्यासलले २–० को जित निकालेको थियो।

न्युक्यासलका लागि १९औं मिनेटमा जाकोब मर्फाइले पहिलो गोल गरे भने दोस्रो गोल ५२औं मिनेटमा एन्थोनी गोर्डोनले गरेका थिए। न्युक्यासल झण्डै ५६ वर्षपछि प्रमुख उपाधि जित्न नजिक पुगेको छ। न्युक्यासलले पछिल्लो पटक सन् १९६९ मा इन्टर सिटिज फेयर्स कप जितेको थियो।