एपीएफलाई पन्छाउँदै मछिन्द्र क्वार्टरफाइनलमा


पोखरा ।

काठमाडौंको मछिन्द्र क्लब पोखरामा जारी २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। प्रतियोगिताको दोस्रो दिन बुधबारको खेलमा मछिन्द्रले नेपाल एपीएफलाई २–० ले हराएको हो।

दोस्रो हाफमा मछिन्द्रले आफ्नो रणनीति परिवर्तन गर्दै दुई गोल गर्न सफल भएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

मछिन्द्रका लागि स्टेफन कामाहा र परिवर्तित खेलाडी आदित्य शाक्यले गोल गरे। खेलको सुरुवातमै मछिन्द्रले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । डिफेन्डर ओमोलाजा करिमले सेकेन्ड बार च्याप्दै गरेको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले पन्च गर्दै बचाए।

४०औं मिनेटमा सनिष श्रेष्ठको प्रहारलाई गोलरक्षक एन्जलले उत्कृष्ट बचाउ गरे। लगत्तै पाएको कर्नरमा समेत एन्जल बाधक बने। ४१ औं मिनेटमा एपीएफका प्रदिप लामाको प्रहार दोस्रो बार नजिकबाट बाहिरियो। ४३ औं मिनेटमा प्रदीपले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरे पनि गोल हुन सकेन।

७२ औं मिनेटमा मनि लामाको क्रसपासमा कप्तान युवराज खड्काले गरेको हेडलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए। लगत्तै ७४ औं मिनेटमा आदित्यले मछिन्द्रका लागि पहिलो गोल गरे। आयुषले सेन्टरलाइनबाट दिएको क्रसलाई नियन्त्रणमा लिँदै परिवर्तित खेलाडी आदित्यले एपीएफका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरे।

७७ औं मिनेटमा एपीएफका बिकु लामो प्रहार पहिलो बार नजिकबाट बाहिरियो । खेलको ८१ औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि दोस्रो गोल गरे। देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा एपिएफका गोलरक्षक एन्जल अघि बढी पन्च गर्न खोज्दा स्टेफनले हेडर गर्दै बललाई जाली चुमाए । जितसँगै एपीएफले अन्तिम चारमा थ्रीस्टारसँग भेट पक्का गरेको छ।