काठमाडौं ।
नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा लगातार पाँचौं हार बेहोरेको छ। त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो।
नेपालले १ सय ४६ रनको चुनौतीपूर्ण लक्ष्य दिए पनि डच टोलीले २ बल बाँकी राखी जित हासिल गरेको थियो। नेपालको तर्फबाट ७ बलरले बलिङ गर्दा पनि कसैले विकेट लिन सफल भएनन्।
डच टोलीलाई जित दिलाउन स्टेर कालिसवास ९८ रनमा नटआउट रहिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरेकी थिइन् । यस्तै, फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नटआउट हुँदै ४८ रन जोडिन् । नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि पूजा महतोले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन्। उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन्।
करियरको पहिलो अर्धशतक पूजाले गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन्। पूजा यस सिरिजमा अर्धशतक बनाउने नेपालकी पहिलो ब्याटर बनिन्। तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन्। इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन्।
नेदरल्यान्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ। ५ खेलमा ६ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ। ५ खेलमा अंकविहिन नेपाल तालिकाको पुछारमा छ। शीर्ष टोली थाइल्यान्डको ४ खेलमा ८ अंक रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।











प्रतिक्रिया