पुष्पराज स्मृति टेबलटेनिसलाई वडा ११ को साथ


काठमाडौं ।

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललिपतुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ।

आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमबार सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपियाँ खर्च हुने बताइएको छ। अध्यक्ष खड्गीले प्रतियोगिताका लागि ५ लाख बजेट विनियोजन गरिसकेको र नपुग रकमको हकमा पनि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १ सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपियाँ रहेको छ। पुरुष/महिला सिंगल्समा शीर्ष तीनमा रहनेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।

इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघातका कारण शाक्यको निधन भएको थियो।