आहा रारा गोल्डकप आजबाट

सनिषलाई ५० हजारसहित सम्मान


पोखरा ।

२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको गोल्डकप पोखरा रंगशालामा हुनेछ। यस्तै, क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गर्नेभएको छ।

प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। सनिषलाई ५० हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्र प्रदान गरिनेछ।

उक्त पुरस्कारवापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन्। नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै क्लबले वर्षेनी एक जना राष्ट्रिय स्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आइरहेको छ।

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन्। सनिष तनहुँ पुर्कोटका हुन्। आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशी टिमसहित कुल १२ को सहभागिता रहनेछ।

प्रतियोगिताबाट कुल एक करोड ५१ लाख आम्दानी र एक करोड ४२ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ। आठ लाख ८० हजार बचत गर्ने क्लबको उद्देश्य रहेको छ।

प्रतियोगितामा हरेक दिन टिकट काटेर आउने दर्शकमध्ये एकले भाग्यशाली पुरस्कार पाँच हजार र हरेक दिन फ्यान अफ दी म्याच दुई हजार पाँच सय रुपियाँ प्राप्त गर्नेछन। खेल अवधिभर टिकट काटेर आउनेमध्ये एक जना दर्शकलाई गोला प्रथाद्वारा एलजीको स्मार्ट टिभी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए।