–लागत झण्डै ६ करोड
–प्राधिकरण भन्छः बजेट तयार गरेका छौं, निर्माण गर्ने तयारीमा छौं
काठमाडौं ।
चार महिनाअघि आएको दुईदिने वर्षाले देशभर २५ सम्पदामा क्षति पुगेको छ। तीमध्ये काभ्रेपलाञ्चोकको पनौतीमा सबैभन्दा बढी १७ सम्पदामा क्षति पुगेको तथ्यांक सार्वजनिक भएको छ। पनौतीबाहेक कीर्तिपुर, रामेछाम, मन्थली, गोरखा, चागुँनारायण, ललितपुरको गोदावरी र महांकालका २५ सम्पदामा क्षति पुगेको हो।
ललितपुरको महांकाल गाउँपालिकास्थित तार्केश्वर महादेव मन्दिरको ६४ शिवलिंग र सत्तलमा सबैभन्दा धेरै क्षति पुगेको छ। सो मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ती संरचना पुनःनिर्माण गर्न ३ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ।
५ करोड ९४ लाख १२ हजार ६ सय रुपियाँमध्ये झन्डै ५० प्रतिशत रकम तार्केश्वर महादेव मन्दिरको शिवलिंग र सत्तल निर्माणमा खर्च हुने भएको छ। विभागले उपलब्ध गरेका तथ्यांकअनुसार पनौतीको त्रिवेणीघाटस्थित नित्य भजन पाटी निर्माण गर्न ५६ हजार, शेषनारायण मन्दिर स्तुपाका लागि ५४ हजार, झोपडीपाटी संंरक्षण गर्न १७ लाख, रामसीता, राधाकृष्ण र सरस्वती मन्दिर संरक्षणमा ६५ हजार, बद्रीनारायण संरक्षण गर्न ५० हजार, केदारनाथ मन्दिर संरक्षण गर्न ५० लाख, मच्छेनारयण, विश्वरूप मन्दिर पछाडिको पाटी संरक्षण गर्न २५ लाख, रामसीता मन्दिर र पञ्चमुखी महादेव संरक्षण गर्न २ लाख १० हजार, पनौती नगरपालिका पश्चिम गेट निर्माण गर्न ४२ हजार, राणाकालीन गेट निर्माण गर्न ३ लाख रुपियाँ खर्च लाग्ने अनुमान छ।
त्यस्तै, पनौतीको कृष्णमन्दिर संरक्षण गर्न १ लाख, ब्रम्हयणी मन्दिर र चिता र पाटी संरक्षण गर्न ३ लाख, त्रिवेणीघाट संरक्षण गर्न साढे ४ लाख र लंकेश्वर मन्दिर संरक्षण गर्न २० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ। त्यसै गरी बाढीले क्षतिग्रस्त कीर्तिपुर नगरपालिका–६ स्थित जलविनायक मन्दिरसँगैको पाटी र सत्तल निर्माण गर्न ७० लाख, रामेछापको मन्थलीघाटमा रहेको शिवमन्दिर र विष्णुपादुका संरक्षण गर्न ३० लाख, गोरखादरबार परिसरमा रहेको गणेश मन्दिर पछाडि रहेको काली मन्दिर संरक्षण गर्न २० लाख, गोरखा दरबारको दक्षिणी भाग संरक्षण गर्न ३० लाख, चाँगुनारायणस्थित मनकामना मन्दिर पुनःनिर्माण गर्न ३० लाख, ललितपुरको लेलेस्थित लिच्छविकालीन अभिलेख संरक्षण गर्न १० लाख र ललितपुरको टीकाभैरब मन्दिर संरक्षण गर्न ५० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ।
बाढी र पहिरोेको कारण क्षतिग्रस्त सबै सम्पदा वर्षात्अगावै संरक्षण र पुनःनिर्माण गर्ने योजना सरोकारवाला निकायले गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाको कारण क्षतिग्रस्त सम्पदा पुनःनिर्माणको काम शुरू हुने क्रममा रहेको जनाएको छ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा. सिजन भट्टराईले असोज ११ र १२ गतेको बाढीपहिरोका कारण क्षतिग्रस्त र ध्वस्त भएका सबै सम्पदा पुनःनिर्माण गर्ने विषयमा छलफल भई निर्णयको चरणमा रहेको बताउनुभयो। उहाँका अनुसार पुरातत्व विभागले दिएको लागत स्टिमेटको आधारमा काम शुरू गर्ने योजना रहेको छ। प्राधिकरणले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणको जिम्मा पुरातत्व विभागलाई दिने भएको छ । विभागले स्थलगत अध्ययन गरी तयार गरेको स्टिमेटको आधारमा प्राधिकरणले विभागलाई जिम्मा दिने तयारी गरेको छ ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले बाढीको कारण क्षतिग्रस्त र ध्वस्त भएको सम्प्दा पुनःनिर्माण गर्न मन्त्रालय र प्राधिकारणलाई पत्राचार गरेको जानकारी दिनुभयो। उहाँले वर्षाअगावै सबै संरचना पुनःनिर्माण गर्नु अत्यावश्यक रहेकाले तत्काल काम शुरू गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो। उहाँले वर्षा अगावै काम शुरू नगर्दा थप क्षति हुने अवस्था आउन सक्ने भएकाले विभागले तत्काल पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार क्षतिग्रस्त सबै सम्पदाको विवरण तयार गरी थप बजेट माग गर्ने तयारी भइरहेको छ। विभागले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि बाढीको कारण क्षतिग्रस्त सबै सम्पदा पुनःनिर्माण गर्न बजेट माग गर्ने तयारी भइरहेको जनाएको छ।
महानिर्देशक प्रधानाङ्गले भन्नुभयो– ‘बजेट तयार गरिरहेका छौं, आगामी आर्थिक वर्षमा थप सम्पदा पुनःनिर्माण तयार गर्नेछौं। उहाँले बाढी र पहिरोको कारण उपत्यकामा सबैभन्दा बढी क्षति भएको थियो। असोज ११ र १२ मा आएको बाढी र पहिरोको कारण सबैभन्दा बढी क्षति उपत्यकाको अन्य भौतिक संरचनामा पुगेको छ।











प्रतिक्रिया