सिमेन्ट उद्योगीको मनमौजीमा सरकारको साथ

५ सयमा निर्यात, ८ सय १५ सम्ममा बिक्री

6.67k
Shares

काठमाडौं ।

केही महिनायता सिमेन्टको मूल्य आकासिएको छ। निर्माण कार्य सञ्चालन गर्ने समयमा बिनाकारण सिमेन्टको मूल्य आकासिँदा निर्माण व्यवसायी र उपभोक्ता मारमा परेका छन्। आर्थिक वर्षको बिचमा एकाएक सिमेन्टको मूल्य बढ्नुपर्ने कुनै कारणबिनै सिमेन्टको मूल्य बढेको व्यवसायीको भनाइ छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण कार्य शुरू भइरहेको अवस्थामा मूल्य बढ्दा समग्र निर्माण क्षेत्र नै प्रभावित भएको बताउनुभयो। उहाँले सरकारी र गैरसरकारी क्षेत्रमा बोलकबोलबाट आयोजना लिँदा घटेको मूल्यअनुसार मूल्यांकन गरी आयोजना लिएको र अहिले सिमेन्टको मूल्य एकाएक महँगो हुँदा ठूलो घाटा व्यहोर्नुपरेको बताउनुभएको छ। उहाँले नेपालबाट २ ओटा कम्पनीले भारतमा ओपीसी सिमेन्ट ५ सय रुपियाँमा निर्यात भइरहेको बताउनुभयो। सिमेन्ट निर्यात गरेबापत नेपाल सरकारले १० प्रतिशत रकम थप दिने गरेको छ।

सिमेन्ट उद्योगी विष्णु न्यौपाने भारु ४ सयमा पीपीसी सिमेन्ट र ४५० रुपियाँमा ओपीसी सिमेन्ट निर्यात गरिरहेको बताउनुभयो। उहाँले नेपालमा भन्दा भारत निकासी सस्तो रहेको भन्ने गुनासो आएको छ नि भन्ने नेपाल समाचारपत्रको प्रश्नमा आफूलाई मूल्य थाहा नभएको बताउनुभयो। त्यसैगरी भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले भारतमा सिमेन्ट कुन दरमा निर्यात भइरहेको आफूलाई जानकारी नहुने बताउनुभयो।

पहिले ५ सयमा बिक्री भइरहेको सिमेन्टको मूल्य एकाएक ८ सय १५ भन्दा बढीमा बिक्री हुँदा पनि सरकारका सम्बन्धित निकाय मौन रहनु आफैंमा आश्चर्यको विषय भएको उपभोक्तावादीले बताएका छन्। उपभोक्तावादी माधव तिमल्सिनाले सरकार भएको अनुभूति उपभोक्ताले गर्न नसकेको बताउनुभयो।

केही समयअघि सिमेन्टको मूल्य बढेपछि नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग र सिमेन्ट उद्योगी बसेर ६ सय १५ रुपियाँ मूल्य कायम गर्ने सहमति भएको थियो । व्यवसायीका अनुसार गरिएको सहमति पनि सिमेन्ट उद्योगीले पालना नगरेको निर्माण व्यवसायीले बताएका छन्। अध्यक्ष सिंहका अनुसार देशमा प्रतिपक्ष र उपभोक्तावादीको भूमिका कमजोर हुँदा उपभोक्ता मारमा परेको बताउनुभएको छ।

त्यसै गरी नेपालमा उत्पादन भएको सिमेन्ट नेपालमा भन्दा भारतमा प्रतिबोरा ३ सय सस्तोमा निर्यात हुने गरेको विषय सार्वजनिक लेखा समितिमा उठेको थियो। सार्वजनिक लेखा समितिमा व्यवासायीले एकाएक मूल्य बढाएको विषय उठे पनि सरकारले व्यवसायीसँग बसेर वार्ता गर्न सकेको छैन । केही समय अगाडि नेपालमा उत्पादन भएको सिमेन्ट भारतमा भने ५ सय रुपियाँ प्रतिबोरा निर्यात भइरहेको थियो।

त्यसै गरी सार्वजनिक लेखा समितिमा संसद् राजन केसीले नेपाली उद्योगले सिन्डिकेट गर्ने हो भने सिमेन्ट आयात खुल्ला गर्नुपर्ने आवाज उठाएसँगै निर्माण व्यवसायीले पनि विदेशबाट सिमेन्ट आयात गर्ने बाटो खोल्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई भेट्न गएको निर्माण व्यवसायीले बताएका छन्। उहाँहरूले नेपालमा सिमेन्ट महँगो बनाउने हो भने भारतबाट निर्यात गर्ने बाटो खुला गर्नुपर्ने तर्क गरिएको अध्यक्ष सिंहले नेपाल समाचारपत्रलाई बताउनुभएको छ। अहिले सिमेन्ट उद्योगीले मिलेर सिन्डिकेट गरिरहेको उपभोक्तावादीले बताएका छन्।

सिमेन्ट उत्पादन संघले भने नेपालमा अहिले २०/२२ मिलियन टन वार्षिक सिमेन्ट उत्पादन भइरहेको बताएको छ। ६० वटा सिमेन्ट उद्योगमा ४२ वटामात्रै सिमेन्ट उद्योग सञ्चालनमा रहेको संघले जनाएको छ। प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने कानुज नै अध्यादेशबाट हट्दा व्यापारीमा झनै मनोबल बढ्दै गएको छ। अहिले निजी क्षेत्रले सिमेन्टको मूल्य बढाएसँगै सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योगले पनि मूल्य बढाएको पाइएको छ।