क्रान्तिकारीको अध्यक्षमा सापकोटा

६ दिनमा मत परिणाम जनार्दन गुटको बलियो प्रभाव

4.23k
Shares

काठमाडौं ।

माओवादीकेन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ। मतदान भएको ६ दिनपछि सार्वजनिक भएको मतपरिणमअनुसार उपाध्यक्षहरूमा, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, उमेश कँडेल, अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैसी र अभिमन्यु यादव निर्वाचित भएका छन्।

महासचिवमा रोशन थापा, निर्वाचित हुनुभएको छ। उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान् बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ, जटिल कार्की विजयी भएका छन्।

सचिवमा प्रेम जैसी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, संस्कृति पुन, आर्टिष्ट मोक्तान, आशा उपकरकोटी, अमर मण्डल जितेन्द्र भण्डारी, युन्छो हाङ माबो र मिरोज अहम्मद निर्वाचित भएका छन् । कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित हुनुभएको छ।

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १ सय ६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते निर्वाचन भएको थियो । मतपरिणाममा विवाद भएको कारण चार दिनसम्म मतगणना स्थगित भएको थियो। सर्वसम्मतबाट पार्टी मुख्यालय पेरिसडाँडामा मतगणना गर्ने सहमति भएपछि अस्ति बुधबार अन्तिम गणना भएको थियो।

मतपरिणाम पार्टी केन्द्रीय कार्यालयबाट निर्वाचन समितिले मतपरिणाम वाचन गरेको थियो। पदाधिकारीबाहेक अन्य मतपरिणाम भने आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरिने आयोगले जनाएको छ। विधानअनुसार अध्यक्ष, ४ खुला ५ र समावेशी गरी ९ उपाध्यक्ष, महासचिव, १२ उपमहासचिव, १२ सचिव र कोषाध्यक्ष र १ सय ६२ केन्द्रीय सदस्य र आयोगको लागि निर्वाचन भएको थियो।

पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल, जनार्दन शर्मा र शक्ति बस्नेत, देवबहादुर गुरुङ, नारायणकाजी श्रेष्ठको गुटबीच प्रतिस्पर्धा भएको स्रोतको भनाइ छ। त्यसमा अध्यक्षबाहेक बहुमत पदाधिकारी उपमहासचिव जनार्दन शर्मानिकटका उम्मेदवार निर्वाचित भएका छन्।

अध्यक्षबाहेक ५ जना उपाध्यक्ष र महासचिवसहित २२ जना पदाधिकारी शर्मा निकटको प्यानलका उम्मेदवार निर्वाचित भएका हुन्। खुला तथा समावेशीसहित उपाध्यक्षमा ८ जना निर्वाचित भएकोमा जनार्दननिकट ४, महासचिव र ७ जना उपमहासचिव जनार्दन निकट निर्वाचित भएको स्रोतको भनाइ छ।

खुलातर्फ र विभिन्न समावेशी समूहतर्फ गरेर १२ जना सचिव निर्वाचित हुँदा जनार्दन निकट प्यानलबाट ८ जना निर्वाचित भएका छन् । केन्द्रीय अनुशासन आयोगकी अध्यक्ष इन्दिरा पुरी पनि शर्मा निकट रहेको स्रोतको भनाइ छ। गुटैगुटले गाँजेको क्रान्तिकारीको नेतृत्व कसरी अघि बढ्नसक्छ भन्ने विषय जटिल रहेको छ।

नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, जनार्दन शर्मालगायत नेताले आफूनिटक विद्यार्थी नेतालाई च्यापेका कारण विद्यार्थी संगठनमा गुट बलियो बन्दै गएको हो।

यसैबीच मतपरिणाम घोषणा भएसँगै पार्टी अध्यक्ष दाहालले सबै पदाधिकारीलाई खुमलटारमा स्वागत गर्नुभएको छ। त्यस अवसरमा उहाँले गुट उपगुटभन्दा पनि मिलेर अघि बढ्न सबै विद्यार्थीनेतालाई आग्रह गर्नुभएको छ । पार्टी अध्यक्ष दाहालले सबैलाई खादा लगाएर सामूहिक फोटो खिचेर बिदाइ गर्नुभएको थियो ।