प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसद्‌मा सम्बोधन गर्ने


काठमाडौं।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ। सङ्घीय संसद्को दुवै सदनको बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दै छ।

सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ।

आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले  जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन्।

अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शीर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको छ।