संकटाले जित्यो सभापति कप

नगदै हस्तान्तरण गरियो


काठमाडौं ।

संकटा क्लबले पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सडन डेथमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघको टोली वागमती प्रदेशलाई हराएर संकटाले उपाधि जितेको हो। यो नतिजासँगै संकटाले २६ लाख र वागमतीले १३ लाख नगद पुरस्कार प्राप्त गरे ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पुरस्कार दिँदा दुवै टोलीलाई नगदै दिइयो । नगदै पुरस्कार हस्तान्तरण गरेको सम्भवत यो पहिलोपटक हो। प्रायःजसो चेक दिइने गर्छ र रकम पछि दिने भन्दै रकम दिन आलोटालो गर्ने चलन नेपाली फुटबलमा बढेको अवस्था छ। यसमा यसरी नगद दिँदा निकै राम्रो रहेको खेलाडीहरूले बताए।

पेनाल्टीमा संकटाका गोलकिपर दीप कार्कीले एक र वागमतीका गोलकिपर बिकेश कुथुले २ प्रहार रोकेका थिए। वागमतीका एक खेलाडीको प्रहार पोस्ट बाहिरिएको थियो। पेनाल्टीमा ३–३ गोल बराबरी भएपछि नतिजाको लागि सडनडेथ भएको थियो। जसमा, संकटाका गोलकिपर दीपले विपक्षी खेलाडी गौरव श्रेष्ठको प्रहार बचाएर उपाधि दिलाए।

यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्णयको लागि अतिरिक्त समय नथपेर सीधै पेनाल्टी सुटआउट भएको थियो । जसमा गोलकिपर विकेशले विपक्षीका पहिलो दुई प्रहार बचाएर वागमतीलाई राम्रो सुरुवात दिलाएका थिए । तर, वागमतीले यसको फाइदा उठाउन सकेन ।

विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी रोक्दै वागमतीको जितको सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै वागमतीलाई २–० ले अघि राखे । त्यसपछि खेलले नाटकीय मोड लियो । वागमतीका कुलदीप कार्कीको प्रहार दीपले रोके ।

उता, संकटाका लागि लक्षु थापाले गोलको खाता खोले। यसले वागमतीको अग्रता २–१ मा खुम्च्यो। वागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले गोल गर्दै २–२ बराबरीमा पुर्‍याए। पाँचौं पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट वागमतीेले ३–२ को अग्रता बनायो । संकटाका लागि दीपले आफैं प्रहार गर्दै गोल गरे। यो गोलले पेनाल्टीमा ३–३ को बराबरी भयो । सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे भने दीपले वागमतीका गौरवको प्रहार रोकेपछि वागमती उपविजेतामै सीमित भयो ।