काठमाडौं ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बिहीबार बिहान बसेको प्रतिपक्ष दलका नेताहरूको बैठकले सरकारले गलत नियत राखेर ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकपछि माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याएका अध्यादेशका विरुद्धमा एक भएर जाने निर्णय भएको जानकारी दिए।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाका हिसाबले पनि गलत छ,’ उनले भने, ‘संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालेका छौँ। हामीले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छौँ।’
संसद्को हिउँदे अधिवेशन भोलि (शुक्रबार) देखि शुरू हुँदै छ। भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ। संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने भएको छ।
सचेतक पाण्डेले राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा विपक्षीले सदनमा सशक्त आवाज उठाउने बताए।
प्रतिक्रिया