काठमाडौं ।
नेपाल एपीएफ क्लब एन्फा महिला लिगको उपाधि विजेता बन्न सफल भएको छ। बुधबार भएको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलअन्तरले हराउँदै लिग विजेता बन्न सफल भएको हो।
प्रतियोगिताभरि एक खेल पनि नहारी एपीएफ विजेता बनेको हो। २०६८ सालदेखि भएको फरक फरक प्रणालीको लिगमा उपाधि एपीएफले मात्र जितेको छ।
टोलीलाई उपाधि दिलाउन लिगको सर्वोत्कृष्ट खेलाडी घोषित सविता राना मगरले दुई तथा सरु लिम्बु र अनु लामाले समान एक–एक गोल गरे। दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफ र पुलिसले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए।
पहिलो हाफमा एपीएफले गरेका केही आक्रमण गोलमा परिणत हुन सकेन भने पुलिसले पनि गोलको केही मौका गुमाएको थियो। दोस्रो हाफमा भने एपीएफले पुलिसलाई पुरै दवाबमा राख्यो। ६४औं मिनेटमा पहिलो गोल गरेसँगैं एपीएफ पुलिसमाथि हावी भएको थियो। सरूले पेनाल्टी बक्स भित्र बायाँबाट दिएको पासमा सबिताले क्लोज रेन्जमा गोल गरेकी थिइन् । यो गोलसँगैं एपीएफले खेलमा १–० को अग्रता बनायो।
पहिलो गोल भएको लगतै ६९ औं मिनेटमा एपीएफले अग्रता दोब्बर पार्यो। निशा थोकरको लामो पासमा रश्मि कुमारी घिसिङले हेडिङ गर्दा बल पोलमा लाग्यो। पोलमा लागेर रिबाउन्ड भएर आएको बललाई सरुले आरामका साथ गोलमा परिणत गरिन्।
दोब्बर अग्रताले एपीएफका खेलाडीहरू पुलिसको डिबक्समा निकै व्यस्त भए। जसले गर्दा पुलिसका खेलाडीहरूलाई बल बिरलै प्राप्त भयो । लगातार पोस्ट आक्रमणमा एपीएफले ८३ औं मिनेटमा तेस्रो गोल पनि गर्यो ।
प्रिती राईको लामो पासमा सविताले गोल गरिन्। यो गोलपछि एपीएफको उपाधि पक्का भयो भने पुलिसको लागि खेलमा फर्कने कुनै संभावना नै रहेन । इन्ज्युरी समयमा अनुले खाली पोष्टमा गोल गरिन्। डिफेन्डरले प्रहार गरेको बल बचाउन पुलिसकी गोलकीपर अगाडि बढेकी थिइन् । उनीसँग अनुले बल खोसेर टोलीको चौथो गोल गरेकी थिइन्।
एपीएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो । बाँकी सबै खेल जित्न सफल टोली हो। एपीएफलाई बराबरीमा रोक्ने टोली पुलिस नै हो । पहिलो चरणमा एपीएफलाई पुलिसले गोलरहित बराबरीमा रोकेको थियो।
एपीएफले पहिलो चरणको लिगमा नौ खेलमा आठमा जित र एक बराबरी गर्दै २५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो । अन्तिम चरण डबल राउन्ड रोबिन प्रारुपमा खेलाइएको थियो र एपीएफले सबै आठ खेल जितेको थियो । पुरस्कार रकम
विजेता—नेपाल एपीएफ क्लब १० लाख
उपविजेता—नेपाल पुलिस क्लब ५ लाख
लिगको सर्वोत्कृष्ट—सविता राना मगर (एपीएफ) १ लाख पुरस्कार
(सविताले प्रतियोगिताभरि ११ गोल र १३ असिस्ट गरेकी)
सर्वाधिक गोलकर्ता—रश्मि कुमारी घिसिङ (एपीएफ) ५० हजार
(रश्मिले प्रतियोगिताभरि ३५ गोल गरेकी)
गोलरक्षक—सावित्री किसन (एपीएफ) ५० हजार
फेयरप्ले—त्रिभुवन आर्मी क्लब १ लाख ५० हजार
फाइनलकी उत्कृष्ट—रेणुका नगरकोटे (एपीएफ)
प्रतिक्रिया