जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ : गृहमन्त्री लेखक


काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा बुधबार सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उहाँले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताउनुभयो ।

“ सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व हो ।” उहाँले भन्नुभयो–“संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो ।”


उहाँले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्नेमा जोड समेत दिनुभयो । गृहमन्त्री लेखकले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म सरकारको तर्फबाट पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, मुलुकमा दिगो शान्ति, शुसान, विकास र समृद्धि स्थापना गर्ने विषयमा कुनैपनि बाधा, अवरोध र कठिनाइले रोक्ने छैन । हामी अविचलित रूपमा जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ ।”


गृह मन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री लेखकले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवद्र्धनमा सरकार निरन्तर लागिरहेने प्रतिबद्धता व्यक्त गर्नुभयो ।