धुर्मुसको नेता रूप


काठमाडौं ।

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म लाज शरणम्को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। पोस्टरमा लोकप्रिय हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस) लाई विशेषरूपमा प्रस्तुत गरिएको छ। नेताको भूमिकामा देखिएका कट्टेललाई दौरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ।

उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको झल्को दिएको छ। पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तु झल्काएको छ।

लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको लाज शरणम्मा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायतका कलाकारले अभिनय गरेका छन्।

कुमार कट्टेल ‘जिग्री ब्रो’ ले निर्देशन गरेको फिल्म जेपिटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।