मुगुका तीन पालिकामा राष्ट्रिय प्रसारणको लाइन पुग्न नसक्दा सर्वसाधारण अन्धकारमै बस्न बाध्य


मुगु।

मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिकाबाहेक अन्य तीन पालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा स्थानीय बासिन्दा अन्धकारमै बस्न बाध्य भएका छन्।
गाउँपालिकाहरू खत्याड, सोरु, र मुगुमकार्मारोङमा अझै पनि विद्युत् सेवा विस्तार गर्न नसकिएको हो। लामो समयदेखि विद्युत्को अभावले स्थानीय जनजीवन प्रभावित भइरहेको छ।

छायाँनाथ रारा नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनले सेवा पुर्‍याएपछि नगरवासीले लाभ उठाउँदै आएका छन्। अन्य पालिकामा पनि राष्ट्रिय प्रसारण लाइन छिटो विस्तार गर्न सरकारसँग स्थानीय बासिन्दाले माग गरेका छन्। बिद्युत् बिस्तार हुन नसकेका तीन ओटै पालिकाहरूमा दिगो ग्रामीण उद्यम बिकास परियोजना अन्तर्गत काम काम सुरु भैसकेको भए पनि अझैँ करिब २ वर्षको समय लाग्ने गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

गाउँमा बिद्युत् सेवा बिस्तार नहुँदा स्थानीय जनताको आर्थिक समृद्धिमा असर पुगेको बताइएको छ। बिजुली अभावकै कारण उद्योग-धन्दा, शिक्षा र स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएका छन्।