काठमाडौँ।
काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गर्ने तयारी गरेको छ। स्कुल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिए । ‘चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरसम्म पठनपाठन हुनेछ । विद्यार्थीले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउनेछन्,’ उनले भने ।
भाषा तथा आमसञ्चार विभाग स्कुल अफ आर्ट्सका विभागाध्यक्ष डा निर्मलमणि अधिकारीका अनुसार अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधा तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीति पनि पाठ्यक्रममा समेटिएको छ ।
प्राध्यापक डा अभि सुवेदीले यस कार्यक्रमले स्नातकलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर-सरकारी सङ्गठन, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक डा सुवेदीले भाषा, साहित्य तथा आमसञ्चारलाई जोड्दै अध्ययनलाई वैश्विक रूपमा सान्दर्भिक बनाउने काठमाडाैं विश्वविद्यालयको प्रयास रहेको बताए ।
कक्षा १२ वा याे सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला हुने र कार्यक्रममा २० जना विद्यार्थीलाई भर्ना गरिने जनाइएको छ ।
भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमका साथै सञ्चार, अङ्ग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
चलचित्र निर्माण, प्राज्ञिक लेखन तथा सञ्चार सिद्धान्तको विपश्चिमीकरण तथा मौलिक सिद्धान्तीकरण लगायतका विषयमा अल्पकालीन शैक्षिक कार्यक्रम पनि विभागले सञ्चालन गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया