लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ


काठमाडौं ।

संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो।

पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिइएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाले न्युज अफ नेपाललाई जानकारी दिए।

पोखरेलले एमबीबीएसमा छोरीको नामको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्त गरेका थिए। गत सोमबार मोरङ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको एसपी चिमोरियाले बताए।