वीरगन्ज।
बिगत केही दिनदेखिको हुस्सु र कुहिरोका कारण मध्यतराईमा बढेको शीतलहरले यहाँको जनजीवन कष्टकर बनेको छ । गर्मी समयमा ४४ डिग्रीसम्मको तामक्रम रहने वीरगन्जसहितका मध्य तराईका शहरहरुमा चिसोका कारण जनजीवन कष्टकर बनेको हो ।
पर्सा जिल्लाभरीको अति विपन्नको संकलित तथ्यांकअनुसार १ हजार ६२१ घरधुरीका ६ हजार ७७१ जना अति विपन्न परिवारका सदस्यहरु बढी प्रभावित भएका छन् । बाहिरबाट जिल्लामा काम विशेषले आउने, बटुवा लगायतका जिल्लाका सबै मानिसलाई यो वर्षको शीतलहरमा चीसोकै कारण पर्सामा ज्यान गुमाउन नपरोस् भनी विभिन्न उपायसमेत अपनाइएको जनप्रतिनिधिहरुले बताएका छन् ।
शीत लहरबाट नागरिकहरुलाई जोगाउनका लागि सार्वजनिक स्थानमा आगो ताप्ने ब्यवस्था मिलाइएको पर्साका स्थानीय पालिकाका प्रमुखहरुले बताएका छन् । शीतलहरीको समयमा अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ। चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या पनि बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। चीसोमा बालबालिका, बृद्धबृद्धा र विरामीको बढी ख्याल गर्नु पर्ने सुझाव वीरगन्जको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारण साहको छ ।
यसैबीच बढ्दै गएको चिसो र शितलहरको प्रकोपवाट बच्न-बचाउनका लागि वितरण गरिने राहत सामग्री विपद व्यावस्थान समितिको शीघ्र कार्य टोलीलाई उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । जाडोयामसँगै यस जिल्लामा शीतलहरको प्रकोप बढेको र त्यसबाट बच्न बचाउनका लागि वितरण गर्ने राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वारा प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेकोले जिल्ला विपद व्यावस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गरेर आग्रह गरेका हुन् । राहत सामग्री प्रदान गर्न ईच्छुक संघ-संस्था-व्यक्तिहरुलाई जिल्लामा गठित “शीघ्र कार्यटोली“ का सदस्य वा जिल्लाका सुरक्षासँग सम्बन्धित पदाधिकारीहरुसँग सम्पर्क गरी राहत सामग्रीहरुको अभिलेखाङ्कन र वितरणमा एकद्वार प्रक्रिया अवलम्बन गर्न अनुरोध गरेका छन् । साथै शीतलहर प्रभावित समूह वा व्यक्तिहरुले आफूलाई तत्काल आवश्यक राहत सामग्रीको विवरण नजिकको सुरक्षा निकायमा टिपाउनसमेत अनुरोध गरिएको छ ।
राहत सामग्रीहरुको वितरण कार्यलाई पारदर्शी र आवश्यकता केन्द्रित बनाउन एकद्वार प्रणाली लागू गरिएको पनि प्रमुख जिल्ला अधिकारी आर्यालले जारी गर्नुभएको सूचनामा जनाईएको छ । जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने सर्वपक्षीय निर्णय गरेको थियो ।
बिद्यालयहरु बिदा
वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै बुधबार पुस २४ देखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए । मधेशका अधिकांश स्थानीय तहले शीत लहर बढेपछि बिद्यालय बिदा दिएका छन् भने बुधबार छिमेकी प्रदेश बागातीको राजधानी हेटौंडामासमेत शीतलहर भएपछि त्यहाँको समेत जनजीवनत कष्टकर भएको थियो ।
प्रतिक्रिया