लमजुङ प्रहरीद्वारा लामो समय नवीकरण नभएका हातहतियार बरामद 


लमजुङ। 

जिल्ला प्रहरी कार्यालय लमजुङले लामो समय देखि नवीकरण नभएका र अवैध रुपमा राखिएका एक सय १४ ओटा हातहतियार बरामद गरेको छ । लमजुङ प्रहरीले विगत पाँच बर्ष देखि नवीकरण नभएका एक सय १४ थान हतियार बरामद गरेको हो । 

बरामद भएका हातहतियारमा भरुवा बन्दुक एक नाले दुई थान, १२ बोर एक नाले बन्दुक २ थान, एक नाले भरुवा बन्दुक एक सय सात थान, एक नाले वृज लोडिङ राइफल एक थान, १२ बोर दुई नाले एक थान, २२ बोर हर्नेट १ थान रहेको छ भने भरुवा बन्दुक एक नाले दुई थानलाई मुद्धा चलाएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निशान श्रीवास्तवले जानकारी दिए । प्रहरीले उक्त हतियार तिन महिनाको अवधिमा बरामद गरेको प्रनाउ श्रीवास्तवले बताए । 

जिल्लामा सात सय ६४ थान हातहतियारको लागत सङ्कलन गरिएकोमा पाँच सय ४५ वटा को विवरण प्राप्त भएको छ भने दुई सय १९ थानको विवरण प्राप्त हुन बाँकी रहेको छ । जिल्लाभर प्रयोग गर्न पाउने हतियार जिल्लमै नवीकरण हुने र देश भर चलाउनका लागि इजाजत प्राप्त भएका हातहतियार जिल्ला बाहिर पनि नवीकरण हुने हुँदा  पूरा विवरण प्राप्त गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

पछिल्लो समय हात हतियार ईजाजत प्राप्त ब्याक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य ब्यक्तीले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग हुन सक्ने आशंका बढेकाले विगतमा ईजाजत प्राप्त भएका तर समयमा नवीकरण नभएका हातहतियार बरामद गरिएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए ।

यस अघि जिल्ला प्रशासन लमजुङबाट हातहतियार नवीकरणका लागि कार्यालयमा आउन प्रशासनले सूचना समेत जारी गरेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिए । 

पाँच वर्षभन्दा बढी नवीकरण हुन नसकेका हतियारको ईजाजत खारेज गरी  हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लाबाट खटिएका प्रहरी टोलीले उक्त हातहतियार बरामद गरी ल्याएको छ । बरामद गरिएका हतियार जिल्ला प्रहरी कार्यालयले बुधवार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।