जोखिमपूर्ण फोहर व्यवस्थापन गर्न सिसा पेल्ने मेसिन सञ्चालन 

9.4k
Shares

लमजुङ।

लमजुङको दोर्दी गाउँपालिकाले जोखिमपूर्ण फोहोर व्यवस्थापन गर्नका लागि सिसा पेल्ने मेसिन संचालनमा ल्याएको छ । पालिकाले सिसाका बोतल तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि सिसा पेल्ने मेशिन संचालनमा ल्याएको हो । प्रयोगविहीन विभिन्न प्रकारका सिसाका बोतलहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार तथा गाउँघर अव्यवस्थित, फोहर जोखिमपूर्ण भएकाले सिसा पेल्ने मेसिन संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

छरिएर रहेका सिसाका बोतलहरुबाट हुने जोखिम कम गर्न र सिसाको उचित व्यवस्थापन गर्न गाउँपालिकाको आर्थिक वर्ष २०८०-०८१ को विनियोजित बजेटबाट सिसा पेल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरा स्थित पालिका खेलमैदान नजिकै निर्माण गरिएको साझा सुविधा केन्द्रमा मेसिन जडान गरी पुस१९ गते शुक्रवार देखि सञ्चालनमा ल्याएको अध्यक्ष अधिकारीले बताए । 

मेसिन हब नेपालमार्फत खरिद गरेर ल्याएको उक्त मेसिन सुरुका दिनमा महिनामा कम्तीमा ३–४ दिन सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताए । उनका अनुसार आवश्यकता अनुसार ज्यालादारीमा कामदार राखेर उक्त मेसिन सञ्चालन गरिनेछ । 

सुरुका दिनमा पालिकाकाले ट्याक्टर भाडामा लिएर सिसाका बोतल तथा टुक्राहरू सङ्कलन गर्नेछ भने स्थानीयलाई प्रयोग विहीन सिसाहरु संकलन गरी  केन्द्र ल्याउन भनिएको गाउँपालिकाले जनाएको छ । संकलित सिसा सिसा पेलेर निस्किएको धुलो सिसा कम्पनीहरूले पुनः प्रयोगका लागि लाने प्रशासकिय अधिकृत काफ्लेले बताए । 

सिसाजन्य फोहर व्यवस्थापन तथा जोखिम न्यूनीकरण गरी वातावरणलाई सफा र स्वच्छ बनाउने प्रयासमा रहेको दोर्दी गाउँपालिकाले सिसाजन्य फोहर व्यवस्थापनमा समस्या भएपछि त्यस्ता सामाग्रि सकेसम्म प्रयोग नगर्न स्थानियलाई आग्रह गरेको छ भने प्रयोग गरिएका सिसाहरूको पुनः प्रयोग गर्न तथा पुनः प्रयोगमा आउन नसक्ने सिसाजन्य वस्तुलाई जोखिम नहुने गरी संकलन गर्न भनिएको छ ।