नवलपरासी।
हरेक वर्षकाे जनवरी महिना लागेसंगै गरिने जलपंक्षी गणना चितवन राष्ट्रिय निकुञ्ज आसपासकाे क्षेत्रमा साेमबार देखि सुरु गरिएकाे छ । निकुञ्ज पूर्वी क्षेत्र चितवन तर्फ एकै दिन तिन वटा समूहले जलपंछी गणना कार्य सुरु गरेको संयाेजक बासु बिडारीले बताए ।
पूर्वी क्षेत्र पुगेकाे टोलीले राप्ती खाेला वरपर लाेथर देखि पश्चिम जिन्दगानीघाट सम्म जलपंछी गणना गरेको हो ।
त्यसैगरी अर्काे टोलीले जिन्दगानीघाटदेखि पर्यटकीय नगरी साैराहासम्म र साैराहादेखि कसरासम्म फरक टोलीले चरा गणना गरेको बिडारीले जानकारी दिएका छन् ।
चरा गणनाका क्रममा रैथाने तथा आगन्तुक चराकाे वर्तमानकाे उपस्थिति थाहा पाउन निकुञ्ज आसपास र रापतीमा मिसिने साना तिना खाेला,ताल,सिमसार सबै तिर नियालेर हेर्ने गरिएकाे बताइन्छ ।
टोलीले डुङ्गा तथा पैदलका माध्यमले निकुञ्ज आसपास र अन्यत्र गरी बीस हजारी,कुमाल ताल,चेपाङ ताल,बटुके ताल,लामिताल,तमर ताल, पटना ताल र ढुंग्रे खाेला क्षेत्रमा पनि पंछी गणनाकाे याेजना बनाएकाे छ ।
पंछी गणनाका क्रममा यस पटक चखेवाकाे संख्यामा बढाेत्तरी देखिएकाे नेपाल पंक्षीविद संघका बाग्मती प्रदेश अध्यक्ष समेत रहेका बिडारीले बताए ।
यस्तै निकुञ्जकाे पश्चिम सेक्टर अन्तर नारायणी नदी र त्यस वरपर पनि जलपंक्षी गणनाकाे तयारी भई रहेको बताइएको छ । नारायणी नदीको सिख्राेली देखि तल दक्षिणी तथा उत्तरी मुख्य भङ्गालाे र अमलटारी पश्चिम त्रिवेणी सम्म एकै पटक जलपंक्षीकाे गणना गरिने संयाेजक डिबी चौधरीले बताए ।
नारायणी नदीमा पानीको बहाव बदलिदा निकुञ्ज उत्तरकाे मुख्य तथा कतिपय भंगाला हिउदयाममा पानी सुक्ने क्रम बढेकाे स्थानीयहरू बताउँछन् ।
नदीको भङ्गालाेमै पानीको प्रवाह घटेका कारण निकुञ्जका वन्यजन्तु,माछा गोही तथा जलपंछी समेत प्रभावित भएकाे बताइन्छ ।
प्रतिक्रिया