यस्तो छ आजको मौसम


काठमाडौं । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र  देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

बाग्मती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक  दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।