भक्तपुर।
बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको छ । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुति पस्कँदै ताथली धिमे खलः प्रथम हुन सफल भएको हो।विजेता ताथलीले नगद ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा चाँगुनारायण नगरपालिका–९ ताथलीको फैकावु गणेश साँस्कृतिक समूह दोस्रो हुन सफल भएको छ । फैकावुले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भुछ्या र एक थान सिछ्या पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा नियो फ्यूजन बाजा समूह भक्तपुर तेस्रो हुन सफल भएको छ । तेस्रो हुने नियो फ्यूजनले नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे र एक थान भुछ्या प्राप्त गरेको छ ।
बनेपा काभ्रेको देउला बासुरी बाजा धिमे खलःले प्रतियोगितामा उत्कृष्ट चौंथो स्थान हासिल गरी सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।सान्त्वना पुरस्कार जित्न सफल देउला बासुरी बाजा धिमे खलःले नगद ५ हजारसहित शिल्ड, प्रमाणपत्र र धिमे एक थान प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट पाँचौंका साथै निर्णायकको उत्कृष्ट छनोटमा वाङ्ख्यो दाफा भजन खलः काभ्रे बनेपा पर्न सफल भएको छ । उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमे बाजा १ थानले पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट छैंटौं देखि १० औं स्थानमा क्रमशः लाय्कू धिमे खलः पनौती, सिवा साय्मी खलः मध्यपुर थिमि, तलेजु बाजा खलः लुभु, बालकुमारी धिमे खलः काठमाण्डौं, सौडोल साँस्कृतिक बाजा खलः ताथली सौडोल पर्न सफल भएको छ । उत्कृष्ट छैंटौं देखि १० औं स्थानसम्म पर्न सफल टोलीले एक एक थान भुस्या पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेता र उत्कृष्ट हुन सफल टोलीलाई प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले पुरस्कार प्रदान गरे ।कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले चाँगुनारायण नगरपालिकामा विश्व सम्पदा सुचीकृत चाँगुनारायण मन्दिर र रमणीय पर्यटकीय स्थल नगरकोट रहेकोले चाँगुनारायणमा पर्यटनको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२ मनाउन लागिएको जानकारी दिए ।नगरकोट भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजित प्रतियोगिताले नगरकोट भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने उनको भनाई छ ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा राखिएको नगरपालिकाका नगर प्रवक्ता जनक खत्रीले बताए ।प्रतियोगिताको एक समारोहबीच प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया