हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छौँ : मन्त्री यादव

1.97k
Shares

काठमाडौँ। 

 खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानी सहितको नलको व्यवस्था गरिने बताउनु भएको छ ।

आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरी ९तीन दशमलव ४ किमी० नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “बारा जिल्लामा घाम पानीले क्षति पुर्‍याएका खानेपानीका सबै टङ्कीहरु मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने म बचन दिन चाहन्छु ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी गर्ने कार्य बढेको तथा जलवायु परिर्वतनका कारण तराइँका विभिन्न क्षेत्रमा रहेका भूमिगत खानेपानी सहित चापाकलहरु सुक्दै गएकाले आगमी दिनमा तराइँका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने अवस्था सृजना भएको बताउनुभयो ।

“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउँन छोडेको छ, उहाँले भन्नुभयो, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराइँमा पानीको निकै हाहाँकार हुने सम्भावना छ । सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्‍याउनका लागि कटिबद्ध रहेको छ ।”

बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको टेण्डर आह्वान गर्ने कार्ययोजना रहेको समेत मन्त्री यादवले विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “म खानेपानी मन्त्री हुँ । मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो । मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने छु ।”

आम नेपाली नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका खानेपानी मन्त्रालय मातहतका सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरी काम भइरहेको समेत मन्त्री यादवले जानकारी दिनुभयो ।

आजको उक्त कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारश साह, कलैया उप–महानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, नेपाल खानेपानी संस्थान ईन्जिनियर महाशाखा प्रमुख निरन मर्हजन, नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराका प्रमुख सञ्जिब यादव, वीरगञ्ज शाखा कार्यालयका प्रमुख प्रवीण साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्र खड्का सहित सहभागिता रहेको थियो ।