स्ववियु निर्वाचनको माहोल तयार, क्याम्पस क्याम्पसमा विद्यार्थी संगठनले प्रचार थाले

37.22k
Shares

काठमाडौं ।

फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न तीन विद्यार्थी संगठनले आन्तरिक तयारी शुरू गरेका छन्। सरकार आबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र प्रतिपक्ष दल अनेरास्ववियु (क्रान्तिकारी) ले तयारी थालेका हुन्।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले फागुन १५ गते हुने स्ववियु निर्वाचनको तयारी थालेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘फागुन १५ गते निर्वाचन गर्न त्रिविलाई आग्रह गरिसकेको बताउँदै सबै क्याम्पस कमिटीलाई तयारी गर्न निर्देशन दिइसकेको बताउनुभयो।

‘त्रिविले तोकेको मितिमा निर्वाचन हुनैपर्छ, हामी सोहीअनुसार तयारी गरिरहेका छौं’ –अध्यक्ष शेर्पाले भन्नुभयो। सबैलाई निर्वाचनमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको नेविसंघले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाउन शुरू गरेको छ।

स्ववियु निर्वाचनमा जुटेको अनेरास्ववियुले देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पस कमिटीलाई निर्वाचन तयारी थाल्न निर्देशन दिएको छ। सो संगठनले स्ववियु निर्वाचन लक्षित अभियान शुरू गर्ने भएको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनमा घोषणापत्र तयार गर्न उपाध्यक्ष गोविन्द गिरीका संयोजकत्वमा घोषणापत्र तयारी कमिटी गठन गरेका जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई लक्षित गर्दै यही पुस २५ र २६ गते जिल्ला अध्यक्ष र माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटीको बैठक डाकेको छ । सो बैठकलगत्तै अनेरास्ववियु देशव्यापी रूपमा निर्वाचनमा होमिने अध्यक्ष बडालले बताउनुभयो। निर्वाचनमा हाम्रोभन्दा पनि जित्ने र राम्रो उम्मेदवारलाई टिकट दिने गरी तयारी थालेको बडालले बताउनुभयो।

नयाँ कार्यसमितिमा ३२ वर्षे उमेर हद तोकेर माघ १२ गते महाधिवेशनमा जुटेको अनेरास्ववियु (क्रान्तिकारी) पनि स्ववियु निर्वाचनमा होमिने जनाएको छ । महाधिवेशनसँगै स्ववियु निर्वाचनमा लागेको अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो। उहाँले निर्वाचन गर्न सबै क्याम्पस कमिटीलाई निर्देशन दिएको बताउनुभयो।

‘त्रिविले घोषणा गरेकै मितिमा निर्वाचन गराउन हामी तयारीमा लागेका छौं, सबै क्याम्पस कमिटीलाई निर्वाचनको प्रचारप्रसारमा लाग्न निर्देशन दिइसकेका छौं’ –अध्यक्ष सिंहले भन्नुभयो । तीन ठूला विद्यार्थी संगठनमा आन्तरिक द्वन्द्व भएपछि निर्वाचन गर्ने विषयमा ती संगठनहरू एकजुट भएका छन्।

तीनवटै संगठनका अध्यक्षहरूले फागुन १५ मै निर्वाचन सम्पन्न गर्न सबै प्रकारको सहयोग गर्ने वचन दिएका छन् । गत वर्ष सम्पन्न त्रिवि सभा बैठकको निर्णयको आधारमा आगामी फागुन १५ गते निर्वाचन गर्ने निर्णय भएको हो ।

निर्देशनालयका निर्देशक एवं परिषद्का सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन सम्पन्न गर्ने विषयमा उपकुलपति, रेक्टर र रजिस्ट्रारसँग छुट्टाछुट्टै र संयुक्त रूपमा कुराकानी गगरिसकेकाले अब निर्वाचन प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय कार्यसमिति गठन भएपछि निर्वाचन तालिका सार्वजनिक गर्ने निर्देशक अधिकारीले बताउनुभयो ।

उपकुलपति प्राडा केशरजंग बरालले क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख भएकाले सोही दिन निर्वाचन गर्ने निर्णय परिषद्ले गरिसकेको बताउनुभयो। स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताउनुभयो । उपत्यका ४ र उपत्यकाबाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्।

गत वर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन। त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ।