काठमाडौं ।
मुलुक र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह, सुशासन र विकासको गति अघि बढाउने मूल मुद्दा बोकेर संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहयात्रालाई परिणाममुखी बनाउन दलहरू प्रयत्नशील देखिएका छन्।
सरकारको नेतृत्वकर्ता नेकपा एमालेले र प्रमुख सहयात्री नेपाली कांग्रेसले पछिल्लो राजनीतिक अवस्थालाई विश्लेषण गर्दै राष्ट्र र नागरिक हितमा काम गर्ने योजनासहित अघि बढेका हुन्।
अस्थिर राजनीतिक अभ्यासलाई बिट मार्दै स्थिरता, सुशासन, विकास र समृद्धिको जगमा नागरिकका पक्षमा काम गर्न सरकार संवेदनशील भएर लागेको नेताहरूले दाबी गरेका छन्।
सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकमा समेत सरकारको काम कारबाहीका विषयमा चर्चा चल्यो। एमालेको सो बैठकमा दुई शक्तिशाली दलको सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो।
‘दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको शक्तिशाली सरकारले अझ बढी डेलिभरी गर्नुपर्छ भन्ने सुझाव दिएका छौं । सरकार जनताका पक्षमा काम गरिरहेको छ यद्यपि अहिले भएका काम पर्याप्त छैनन्, सरकारले अझ बढी काम गर्ने गरी तीव्रता देओस् भन्नेमा हामी छौं’ –उहाँले भन्नुभयो ।
बैठकले केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा सरकारले ६ महिनामा अर्थतन्त्र सुधार्न गरेको प्रयत्न, राजनीतिक घेराबन्दी, कामको समीक्षासहितको विषय समेटिने ज्ञवालीले बताउनुभयो। सचिवालयको ४३औँ बैठक आगामी पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको नेताहरूले बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको उक्त प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको ज्ञवालीले बताउनुभयो । अर्थतन्त्रमा अपेक्षित प्रगति हुन नसके पनि यो सरकार आइसकेपछि केही नयाँ काम भइरहेको ज्ञवालीको दाबी छ।
पार्टी बैठकमा पेस गर्ने प्रधानमन्त्री ओलीको प्रतिवेदनमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको कुरा पनि उल्लेख गरिनेछ भने सरकारले बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्ने, जनतालाई दिनुपर्ने डेलिभरीको पाटोमा समेत समीक्षात्मक रूपमा प्रतिवेदनमार्फत स्वीकारिएको नेता ज्ञवालीले दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेससँगको सहकार्यबारे विस्तृतमा व्याख्या गर्ने तयारीमा हुनुहुन्छ। ‘किन नेकपा एमाले र कांग्रेसको सहकार्य भयो ? यस सहकार्यको औचित्य र त्यसले सिर्जना गरेको अवस्थाबारे प्रतिवेदनमा विस्तृत विवेचना गरिएको छ’, ज्ञवालीले अगाडि भन्नुभयो– ‘यसका साथै कांग्रेससँग मिलेर सरकार गठनयताको ६ महिनाको पनि राजनीतिक प्रतिवेदनमा समीक्षा गरिएको छ।’ ओलीले अर्थतन्त्र सुदृढीकरण र विकासको पाटोमा राम्रो काम भएको कुरा प्रतिवेदनमा उल्लेख हुनेछ।
गत असार १७ मा संसद्का पहिलो र दोस्रो दल कांग्रेस–एमालेबीच भएका समझदारीलाई कार्यान्वयन गर्दै मुलुक र जनताको हितमा काम गर्ने विषयमा नेताहरू सजग रहेको नेपाली कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्कर्माले बताउनुभयो।
‘अहिले कांग्रेस–एमालेबीचको सहकार्यमा सरकार गठन छ। यो सरकारलाई असफल हुने छुट छैन। नागरिकमा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारमा सहभागी नेताहरूले काम गर्नुहुनेछ। बाहिरबाट हामीले सचेत गराउने र यो सरकारलाई सफल बनाउनुपर्नेछ। जसले नागरिकमा देखिएको निशारालाई आशामा बदल्न सहयोग पुगोस्’ –उहाँले भन्नुभयो।
सरकार पक्षका नेताहरूले सरकारको काम प्रभावकारी भएको र यही सरकारले नागरिकमा देखिएको निराशा र राजनीतिप्रतिको वितृष्णालाई चिरेर जाने दाबी गरिरहँदा प्रतिपक्षी दलहरूले भने सरकारको तीव्र आलोचना गरिरहेका छन्।
प्रतिक्रिया