काठमाडौं ।
नेकपा एमालेको राजनीतिबाट शीर्ष तहमा पुगेका नेता वामदेव गौतम र डा. भीम रावल यति बेला राजनीतिक छटपटीमा पिरोल्लिएका छन्। लामो समय सत्ता र शक्तिको रजगजमा रमाएका दुवै नेताहरू एमालेमा स्थान नपाएर शक्ति क्षीण भएसँगै चरम छटपटीमा पुगेका हुन्।
एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वगृहमन्त्री भइसकेका दुवै नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनयता कुनै जिम्मेवारी नदिएर पाखा लगाउँदै आउनुभएको थियो।
गौतमको सदस्यता एमालेमै रहे पनि केही समयदेखि उहाँ आफैंले कम्युनिस्ट एकता राष्ट्रिय अभियानको संयोजक घोषणा गरेर लाग्नुभएको थियो। भीम रावलको भने पुस ११ गतेको एमाले सचिवालय बैठकले सदस्यता नै नरहने गरी कारबाही गर्ने निर्णय लिएको थियो।
पछिल्लो समय पार्टीको सदस्यता नै खोसेपछि छटपटीमा परेका नेता रावलले नयाँ पार्टी निर्माणको तयारीमा जुट्नुभएको छ। तर, रावलभन्दा अघि नै एमालेमा ठाउँ नपाएर बरालिनुभएका वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तरखरमा हुनुहुन्छ।
गौतमले पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालसँग सोमबार छलफल गर्नुभएको नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य दिलु पन्तले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वामदेव कमरेडलाई पार्टीमा आउने कुरा पहिलादेखि नै थियो । पार्टीको महाधिवेशन सकेर कार्यविभाजन पनि सकिइसकेको छ । तर, उहाँलाई पार्टीले वरिष्ठ उपाध्यक्षसहित सम्मानित स्थान दिएर स्वागत गर्न तयार छ। पार्टी अध्यक्ष नेपाल र नेता गौतमबीच करिब अन्तिम चरणमा छलफल भइसकेको छ।’
नेकपा एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट वार्ता भएको हो । भेटका क्रममा पुराना संस्मरणहरू पुनः जीवित गरेको नेता गौतमले बताउनुभयो। नयाँ पाइला सँगै अघि बढाउनेबारेमा छलफल भएको भन्दै गौतमले भन्नुभयो– ‘पुराना संस्मरणहरू पुनः जीवित गरियो। नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्ने कुरा भयो । पार्टीमा आउने सम्भावना छँदै छ।’ उहाँले आफ्ना समूहमा रहेका केही नेताहरूको व्यवस्थापनका विषयमा पनि अध्यक्ष माधव नेपालसँग कुराकानी गरेको नेताहरूले बताएका छन्।
एमालेबाट निष्कासनमा पर्नुभएका डा. रावलले आगामी कार्ययोजनाबारे जानकारी दिन पत्रकार सम्मेलन नै गर्ने तयारी गर्नुभएको छ । आफ्ना कुरा राख्न र भावी कार्ययोजनासमेत जानकारी गराउन नेता रावलले बुधबार पत्रकार सम्मेलन गर्न लाग्नुभएको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिनुभयो।
‘बुधबार पत्रकार सम्मेलन गर्ने तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’ –दुवालले भन्नुभयो।
प्रतिक्रिया