काठमाडौं ।
काठमाडौंमा नै रहेको नागार्जुन नगरपालिकामा मेयर मोहनबहादुर बस्नेतको योजनामा ब्रह्मलुट भएको पाइएको छ। मेयर बस्नेतले ९ करोडभन्दा बढी रुपियाँ घुस खाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यसै गरी अख्तियारले बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र त्यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मेयर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र त्यसका सञ्चालक/अध्यक्ष कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी सो जग्गा बिक्रीसमेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरीको आधारमा छानबिन गरेपछि सो मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रा.लि/पद्मा मर्चेन्ट कम्पनी प्रा.लि./जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट घुस/रिसवत लिने मनसायले मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको आयोगले जनाएको छ।

त्यस्तै, सो प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरूवाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरी/गराईएको थियो। प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गराइएको थियो ।
त्यस क्रममा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन जग्गा धनीहरूलाई गफलतमा पारी जग्गाधनीहरुसँग सम्झौता गरी गराई जग्गा मेयर वस्नेतले ३ करोड ७२ हजार रुपियाँमा जग्गाधनीहरूलाई भुक्तानी दिएर जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गरे गराएको अभियोगपत्रमा भनिएको छ।
बजार मूल्य ४७ करोड ७५ लाख भएको उल्लिखित जग्गाहरू कोलोनीले जग्गाधनीहरूलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ भुक्तानी दिएको थियोे । राजस्व र बैनाबट्टा रकमसमेत गरी २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी उल्लिखित जग्गाहरू बजार मूल्य भन्दा करिव २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको थियो।
मेयर वस्नेतले निजको श्रीमती उर्मिला बस्नेतसँगको मिलेमतो तथा योजनामा ती कार्य गर्न बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ र ३३ पैसा, छ करोड ८२ लाख मूल्य बराबरको जग्गा र कँडेललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको वैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार छ सय ३७ रुपियाँ समेत गरी ९ करोड २२ लाख ४६ हजार ३२ रुपियाँ ३३ पैसा बराबर घुस मेयर बस्नेत र उर्मिला बस्नेतले पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष कंडेलबाट लिएको कसुर वारदात पुष्टि भएको आयोगको प्रारम्भिक अनुसन्धानले जनाएको छ।
आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसंगै भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार मेयर बस्नेत निलम्बित भएका छन् । राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड (ग) दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने ऐनको दफा ३३ मा भनिएको छ ।
मेयर बस्नेतलाई घुस कुन बैंकमा कति ?
प्रभु बैंकमा : ९ करोड ७२ लाख
एनएमबी बैंकमा : १ करोड











प्रतिक्रिया