मोहन वैद्य त्रिवि शिक्षण अस्पतालको आईसीयुमा 


काठमाडौं ।

विगत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई थप समस्या आएपछि आईसीयुमा सारिएको छ।

अस्पताल स्रोतका अनुसार वैद्यको स्वास्थ्य थप बिग्रिएपछि शनिबार बिहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयुमा सारिएको हो। त्यसअघि उनलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखिएको थियो।

‘अस्ति केही सञ्चारमाध्यमले वैद्य बिहीबार कार्यक्रममा सहभागी हुँदा स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएको  लेखिएको  देख्यौँ तर त्यसमा सत्यता थिएन। उहाँ अस्पताल भर्ना भएको आज पन्ध्र दिन भयो। हिजो बिहान अलि बढी समस्या भएर आसीयुमा सारिएको हो । अपराह्न तिर सामान्य सुधार हो कि जस्तो छ,’ आइतबार  पारिवारिक स्रोतले भन्यो ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको छातीमा सङ्क्रमण र दमको समस्या छ। ‘निमोनिया नै त नभनौँ, छातीको सङ्क्रमण हो । दम उहाँको पुरानो समस्या हो,’ ती चिकित्सकले भने,  ‘अहिले अवस्था स्थिर छ।’

नेता वैद्य पहिले देखि नै दमका बिरामी हुन्। अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो।