जिल्ला समन्वयले लालपूर्जा नदिँदा जग्गा उपभोग कर्ताहरु मर्कामा

1.13k
Shares

उदयपुर ।
तत्कालिन जिल्ला पंचायत उदयपुरले (साविक गाईघाट गाउँ पंचायत) हालको त्रियुगा नगरपालिका र (साविक त्रिवेणी गाउँपंचायतको कटारीमा हालको कटारी नगरपालिकामा टाउन प्लानिङकालागि छुट्याएर घडेरीका रुपमा बिक्री गरिएको जग्गा मध्ये केही सम्बन्धित उपभोग कर्ताको नाममा दर्ता गरिदिनु पर्नेमा नगरेका कारण जग्गा उपभोक्ताहरु मार्कामा परेका छन् ।


उदयपुरको त्रियुगा नगरपालिका वडां ११ साविक गाईघाट गाउँ गाविस ४ ख कि.नं १०० को २० विघा, १२ कठ्ठा, १३धुर घडेरीहरु तत्कालिन जिल्ला पंचायतले २०३६ सालमा टाउन प्लानिङ गरेर बिक्री गरेकोमा उपभोगकर्ताहरुको नाममा पास गरिदिन बाँकी रहेको छ । यस्तै २०४४ सालमा पनि गाईघाट ४ ख कि नं ८७ को ११ कठ्ठा १५ धुर घडेरी समेतको जम्मा ११छ वटा घडेरीहरु उपभोक्ताहरको नाममा पास गरिदिन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

उदयपुरको गाईघाट र कटारी बजारमा टाउन प्लानिङ गरेर बजार बसाउन बिक्री गरिएका घडेरीहरु पास गर्ने काम रोकिएपछि गाईघाट र कटारीका उपभोक्ताहरुले संघर्ष समिति गठन गरेर पास गरिदिन दवाव दिइरहेको संघर्ष समितिका संयोजक भिमचन्द्र राईले बताए । गाइघाट कटारी मुकुर्ची टाउन प्लानिङ समस्या समाधान व्यवस्थापन समितिका संयोजक भिमचन्द्र राईले साविक जिल्ला पंचायत, जिल्ला विकास समितिले कटारीमा ८कठ्ठा जग्गामा ४२९ वटा घडेरीहरु टाउन प्लानिङमा पारेर ३२५ घडेरीहरु पास गरेकोमा १०४ वटा घडेरी बिक्री गर्न बाँकी रहेको बताएका छन् ।

गाईघाटमा २० विघा १२ कठ्ठामा वितरण गरिएको घडेरी मध्ये ३०४ वटाघडेरीको जग्गाधनी प्माण पुर्जा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई सकिएको र १२५ वटा घडेरीको पुर्जा दिन बाँकी रहेकोमा त्यसमा आफ्नो पनि पुर्जा लिन बाँकी रहेको राईले बताए । यसैगरी कटारी नगरपालिका ४ का प्रकाश थापाले पनि कटारी बजारको टाउन प्लानिङको जग्गा वर्षौदेखि उपभोग गर्दै आएकोमा हालसम्म पनि पुर्जा नपाएको बताएका छन् । थापा संघर्ष समितिको सह संयोजक पनि हुन ।

उनले तत्कालिन जिल्ला पंचायतले तत्कालिन सगरमाथा अंचलाधिस कार्यालयबाट सहमती लिएर कटारी मा बजार बसाउन टाउन प्लानिङको योजना बनाएको र तत्कालिन जिल्ला पंचायतका सभापति कटारीका भद्रभलाद्मी समेतको सहयोगमा भएको थियो । टाउन प्लानिङकालागि भारतबाट यन्जिनियर झिकाएर प्लानिङ गरिएको र कटारीमा वितरण गरिएका घडेरीहरु मध्ये १०४ वटा घडेरीको जग्गा धनी पुर्जा वितरण गर्न बाँकी रहेको बताए ।

जिल्ला विकास समितिले जग्गा नवीकरण गरिदिने व्यवस्था रहेकोमा हाल सो व्यवस्था नभएकोले व्यवसायीहरुले बैंकबाट ऋृण लिएर व्यवसाय गर्न समस्या भएको छ । कटारी बजारमा रहेको घडेरी जग्गा उपभोग कर्ताहरुको नाममा दर्ता नगर्दा उपभोक्ताहरु मार्कामा परेको र व्यापार व्यवसाय गर्न बैंकमा धितो राखेर ऋृण लिन नपाएको उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष जमानसिंह बस्नेतले बताएका छन् ।

यस विषयमा कटारी नगरपालिकाकी उप मेयर गीता खड्काले त्रियुगा र कटारी नपामा तत्कालिन जिल्ला पंचायतले वितरण गरेको प्लानिङको घडेरीमा अहिले चार पाँच तले घर बनाएका छन तर जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धित जग्गा धनीलाई गरिएको छैन । जसकाकारण जग्गा उपभोग कर्ताहरु समस्यामा परेका छन् । उक्त जग्गाका बारेमा जिल्ला समन्वय समितिसँग सम्पर्क गर्दा मन्त्री परिषदको निर्णय नभएसम्म स्वामित्व हस्तान्तरण गर्न नसकिने जवाफ पाइएको बताउनु भयो ।

जिल्ला समन्वय समिति उदयपुरका सूचना अधिकारी दिपक पोखरेलले टाउन प्लानिङको जग्गाको काम कार्वाही हालको अवस्थामा नीति नियम परिवर्तन भएकोले र माथिबाट नीति निर्देशन प्राप्त नभएकाकारण जग्गा पास गर्न कानुनी बाधा भएको बताए । गाईघाट र कटारीमा गरिएको टाउन प्लानिङको जिल्ला समन्वय समितिले र उदयपुरकै रौतामाई गाउँपालिका वडा नं ७ को मुर्कुची बजारमा गरिएको टाउन प्लानिङको जग्गाको पनि स्वामित्व हस्तान्तरण गर्न बाँकी रहेको बताइएको छ ।

मुर्कुची बजारमा गरिएको प्लानिङको जग्गा पनि उपभोगकर्ताको नाममा दर्ता गर्न बाँकी रहेको र त्यसको दर्ता प्रक्रियामा पनि रौतामाई गाउँपालिकाले दर्ताकालागि आवश्यक प्रक्रिया अघि बढाएको रौतामाई गाउँ पालिकाले जनाएको छ ।