उदयपुर।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार सुरु गर्दै ग्रामीण क्षेत्रमा समेत एमबिबिएस सेवा सञ्चालनमा ल्याएको छ ।
चौदण्डीगढी नगरपालिकाले वडा नम्बर ९ मा रहेको स्वास्थ्य चौकी हडियाबाट एमबिबिएस सेवा सुरु गरेको हो । नगरले भौगोलिक अवस्थालाई मध्यनजर गर्दै नगरको वडा नम्बर ५ शिवाई सुन्दरपुर, वडा नम्बर ९ र १० को हडिया क्षेत्रलाई लक्षित गर्दै एमबिबिएस डाक्टरको सेवा स्वास्थ्य चौकी हडिया बाट सुरु गरेको हो ।
नगरमा डाक्टरको सेवा सुविधा केन्द्रीकृत भएको भन्दै सेवा बिस्तार गरिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिए । डाक्टरको सेवा केन्द्रीकृत हुँदा जनता पर्ने असहजतालाई मध्यनजर गरेर अहिलेलाई प्रत्येक हप्ताको आइतबार एमबिबिएस डाक्टरले स्वास्थ्य चौकी हडियाबाट सेवा दिने नगर प्रमुख लामाको भनाई छ ।
हडिया स्वास्थ्य चौकीमा हरेक आइतबार चेक जाँच गरिएका बिरामीलाई आवश्यक्ता अनुसार आधारभूत नगर अस्पताल बेल्टार जानु पर्ने भएमा स्वास्थ्य चौकी हडियामा रहेको एम्बुलेन्स मार्फत बिरामीलाई नगर अस्पताल पुर्याइने वडा नम्बर ९ का अध्यक्ष समेत रहेका नगर प्रवक्ता प्रकाश राउतले जानकारी दिए ।
गाउँ घर स्तरमै डाक्टरले सेवा दिन थालेपछि हडिया, शिवाई, सुन्दरपुर क्षेत्रका विशेष गरी बृद्धबृद्धाहरुमा खुसीयाली छाएको छ ।
चौदण्डीगढी नगरपालिकाले पछिल्लो समय आधारभूत नगर अस्पतालमा दन्त सेवा, फिजियो थेरापी, ल्याव, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा दिँदै आएको छ भने छिट्टै अन्य सेवा सुविधा थप गर्दै लैजाने गरी कार्य योजना बनाएर काम गरी रहेको छ ।
प्रतिक्रिया