मुलुकको संकट समाधान गर्न दुई ठुला पार्टीको गठबन्धन : सञ्चारमन्त्री गुरुङ 

1.6k
Shares

लमजुङ। 

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकको संकट समाधानका निम्ति देशका दुई ठुला पार्टीको गठबन्धन भएको बताएका छन्  । लमजुङको क्व्होलासोथार गाउँपालिका प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। 

मुलुकमा अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भइसकेको भन्दै जनतालाई केन्द्रमा राखेर त्यो संकटबाट पार गर्न छुट्टाछुट्टै नीति र पृष्ठभुमी भएका कांग्रेस र एमाले मिलेर सरकार बनाएको मन्त्री गुरुङको भनाई थियो ।

देशमा सुशासन नहुँदा विकास नभएको भन्दै मन्त्री गुरुङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको दाबी गरे । मन्त्री गुरुङले सरकारले अहिले समस्या पहिचान गर्दै दिगो विकासका गतिविधि सञ्चालन गर्ने बताए । 

गाउँपालिकाको कामलाई प्रविधिमैत्री बनाउनु पर्छ त्यसकालागि हामी सबैले सहकार्य गर्नेछौं : गण्डकी प्रदेश बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको भनाई । जनप्रतिनिधिले राजनीतिक स्वार्थ भन्दापनि नागरिकले कसरी छिटो र सहज तरिकाले सेवा पाउँछन् भन्ने विषयमा ध्यानदिनुपर्ने मन्त्री पौडेलको भनाई छ। 

२०७७ साल असोजबाट निर्माण थालनी भएको प्रशासकीय भवनको निर्माण कार्य झण्डै एकवर्ष ढिला गरी सम्पन्न भएको थियो ।  २०७९ असोजमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको भवन निर्माण कार्य निर्माण पक्षले चासो नदिँदा निर्माण अवधि लम्बिएको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए । 

क्व्होलासोथर गाँउपालिका वडा नं. २ स्थित मालिङमा दुई रोपनी एक आन दुई पैसा जग्गामा निर्माण सम्पन्न तिनतले भवन चार करोड १४ लाख १२ हजार नौ सय ३९ रुपैयाँ ६३ पैसाको लागतमा बनेको हो । भवन निर्माणका लागि रविना-अविशा-विकन जे.भी. निर्माण कम्पनी संग २०७७ साल असोज ३० गते सम्झौता भएको थियो ।