आज उँधौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन् ।

उँधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई बताउँछन्। 

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उँधौली पर्वका रूपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किरात समुदायले उँभौली पर्व मनाउने प्रचलन छ। 

भूमि पूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन्। ललितपुरको सानो हात्ती वन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थल मानिन्छ । सानो हात्ती वनमा आज पूजाआजासहित किरात चाड विशेष रूपमा मनाइन्छ। 

पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किरातले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।

जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उँधौली र उँभौली पर्वको रूपमा लिने गरिन्छ। उँधौलीको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। 

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ।