काठमाडौं ।
सत्ता पक्ष र विपक्षीबीच सरकारमा सहयात्रा गरेका कांग्रेस–एमाले गठबन्धन जोगाउने र भत्काउने लडाइँ चलिरहेको छ। सत्तालाई केन्द्र भागमा राखेर गरिने राजनीतिक मानसिकताले ग्रस्त दल र नेताहरूले देश र जनताको अवस्था परिवर्तनभन्दा पनि सरकार परिवर्तनलाई नै मुख्य एजेन्डा बनाएर लडेका हुन्।
राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासका लागि एक ठाउँ रहेको दाबी गर्ने सत्ता पक्षका नेताहरूको कामप्रति नागरिक सन्तुष्ट छैनन्। प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरूले सरकार पक्षलाई कसरी खुइल्याउने भन्नेमै व्यस्त छ। पाँच महिनादेखि सत्ताबाहिर रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकमा रोइलो गरिरहनुभएको छ।
सत्तामा रहेका कांगे्रस–एमालेबीचको सहयात्रालाई कसरी टुटाएर आफू सत्तामा पुग्न सकिन्छ भन्ने प्रपञ्चमा रहनुभएका दाहालले छिमेकी राष्ट्रहरूसमेतको सहयोगको अपेक्षा गर्नुभएको छ। उहाँले चीनलाई खुसी पार्ने नाममा बीआरआई परियोजना आफ्नो पालामा सहमति गराएको र अहिलेको ओली सरकारले त्यसैको फोटोकपी गरेर बीआरआई फ्रेमवर्कका नाममा हस्ताक्षर गरेर आएको टिप्पणी गर्नुभएको छ।
उक्त अभिव्यक्तिप्रति सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बीआरआई सम्झौतामा भएको हस्ताक्षर कांग्रेस र एमालेबीचको सहमतिअनुरूप नै भएको बताउनुभयो। ‘कसैले यस विषयलाई उचालेर दुई प्रमुख पार्टीका बीचमा अन्तरविरोध सिर्जना गर्न सकिन्छ कि भन्ने ठानेको छ भने त्यो भ्रम मात्र हो’ –उहाँले भन्नुभयो।
पौडेलले कांग्रेस र एमालेबीचको गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो। एमाले उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले २०८४ कै निर्वाचनसम्म दुई पार्टीको सहकार्य निरन्तर रहने दाबी गर्दै भन्नुभयो– ‘राजनीतिक स्थायित्वसहितको विकासको यात्रा तय गर्न कांग्रेस–एमालेको सहकार्य भएको हो। संविधान निर्माण भएपछि नेपाली जनताको चाहना सामाजिक न्यायसहितको समृद्धि हो। तर, राजनीतिक अस्थिरताले हामीलाई त्यसतर्फ अघि बढ्न दिइरहेको थिएन। लामो इतिहास, योगदान र हैसियत भएका कांग्रेस, एमालेजस्ता पार्टीसँग बहुमत नहुने, साना दलहरूलाई जोडेर निर्माण गरिएको बहुमत लामो समय टिक्न र जनताको पक्षमा राम्रो डेलिभरी दिन नसक्ने समस्या हाम्रा सामु थियो।’
प्रतिपक्षबाट जे जस्तो गतिविधि र टीकाटिप्पणी भए पनि कांग्रेस र एमालेबीचको राजनीतिक सहयात्रा बलियो भएको उहाँको दाबी छ । ‘नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा कायम भएको यो राजनीतिक सहयात्रा कुनै काँचो धागोमा अडिएको छैन। यो निश्चित ध्येय र उद्देश्यमा आधारित छ । राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरूको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मुख्य उद्देश्य हो’ –उहाँको भनाइ छ । अहिले कांग्रेस र एमालेको बीचमा दरार सिर्जना गर्नका लागि विभिन्न प्रयास भइरहे पनि त्यसलाई परास्त पार्दै राजनीतिक स्थायित्व सुनिश्चित गर्ने पौडेलले विश्वास दिलाउनुभयो ।
तर, नेकपा माओवादी केन्द्रले भने वर्तमान सरकार जनभावनाविपरीत, बिचौलियाको पक्षमा बनेकाले आयु धेरै नहुने टिप्पणी दोहोर्याउँदै आएको छ। उक्त दलका प्रवक्ता अग्नि सापकोटाले यो सरकारसँग जनताले केही अपेक्षा नगरेको र चाँडै गठबन्धन भत्किने दाबी गर्नुभयो।
राजनीतिक स्थिरता दिने र सुशासनका पक्षमा काम गरेको वर्तमान सरकारमा सम्मिलित कांग्रेस–एमालेबीच अनेकन खेलहरू भइरहेको दाबी गर्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले यो गठबन्धनमा कुनै दरार उत्पन्न नहुने विश्वास व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया